बाजुरामा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी

नजिक न्युज संवाददाता    

बाजुरामा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी

बाजुरा : बाजुराबाट नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५४३७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । पाण्डेले ३१७८६ मत प्राप्त गर्दा थापाले २६३४९ मत ल्याएका छन् । 

पाण्डे ५४३७ मतको अन्तर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बताएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाण्डे निर्वाचित भएर पहिलो पटक संसदको यात्रा तय गरेपनि समानुपातिक सभासद र राष्ट्रिय सभाको सदस्यको रुपमा यस अघि नै त्यो अवसर पाइसकेका छन् । 

बुथ कब्जा र बुथमा भएको विवादमा दुई जना युवा गुमाउनु परेको विषयलाई लिएर केही दिन रोकिएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिएपनि ढिलो गरि सुरु भएको थियो । नेकपा एमालेले १६ र नेपाली काँग्रेसले ८ स्थानमा बुथ कब्जा गरेको आरोप सहीत पुन मतदानको माग सहीत उजुरी दिएका थिए । 

नौ वटै पालिका मध्ये गृह पालिका हिमाली, त्रिवेणी, खप्तड छेडेदह र स्वामिकात्र्तिक आपर गाउँपालिकाबाट फराकिलो अन्तरले पाण्डे सहीत गठबन्धनका उम्मेदवारलाई मत आएको छ । यो पटक बाजुरामा हेविभेट प्रतिस्पर्धा थियो । 

पाण्डे नेपाली काँग्रेसका सहमहामन्त्री हुन् । भने थापा नेकपा एमाले स्थायी कमिटी सदस्य हुन् । पार्टी राजनीतिमा दुबै जना शिर्ष तहका नेता हुन् । यो चुनावलाई रोचक र कडा प्रतिस्पर्धाका रुपमा हेरिएको थियो । गठबन्धनको बलियो सहकार्य र बुथहरुमा बलियो प्रभाव राखेर काँग्रेसका उम्मेदवार पाण्डे विजयी भएका छन् ।

थापाले योसँगै संसदीय चुनावमा तेस्रो हार बेहोरेका छन् । २०५६, २०६४ र २०७९ मा हार बेहोरेका थापाले २०७० को चुनावमा भने जित हात पारेका थिए । थापा पहिलो पटक संसदमा छिर्दा नै मन्त्री हुने अवसर समेत पाएका थिए ।पाण्डेलाई पनि बाजुराले मन्त्री भएको हेर्ने पर्खाइ गरेको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले बाजुराका सबै संसदीय चुनावमा बराबरी जित निकालेका छन् । २०४८, २०५६, २०६४ र २०७९ मा नेपाली काँग्रेसले जितेको छ । भने २०५१, २०७० र २०७४ मा नेकपा एमालेले जितेको छ । स्थानीय तह निर्वाचन २०७४ मा ६ पालिका सहीत समन्वय काँग्रेसको पक्षमा हुँदा नेकपा एमाले वाम गठबन्धनले चुनाव जितेको थियो । भने २०७९ मा ६ पालिका र समन्वय एमालेको पक्षमा हुँदा लोकतान्त्रीक वाम गठबन्धनले चुनाव जितेको छ । 

बहुदल प्राप्तीका लागि विद्यार्थी राजनीतिबाट योगदान पुर्याएका पाण्डेले नेविसंघमा लामो राजनीति गरेका थिए । बालमिकी क्याम्पसबाट राजनीति गरेका पाण्डेले काँग्रेसको महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए । प्रष्टवक्ता र प्रभावी व्यक्तित्वका कारण काँग्रेसको राजनीतिमा स्थापित पाण्डे पार्टी राजनीतिमा बलियो प्रभाव राख्ने नेताको रुपमा हेरिएको छ ।

बाजुरामा प्रतिनिधी सभा तर्फ ५ जनाले उम्मेदवारी दिएका थिए । जस्मा राप्रपाका जंगकुमार गिरीले २०७, जन समाजवादी पार्टी रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् । 

यता प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन् । 

शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन् । भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत ल्याएका छन् । समाजवादीका केन्द्रीय सदस्य रहेका शाहीले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसका पदम बहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई २५९८ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन् । 

शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन् । भने थापाले १७५२१ मत ल्याएका छन् । प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन् । 

बाजुरामा कुल मतदाता ८३५६७ मध्ये प्रतिनिधी सभा तर्फ ६०१५२ मत खसेको थियो । भने प्रदेश (क) मा २०९९४ र प्रदेश (ख) मा ३९१५८ मत खसेको थियो । 



आइतबार १८, मङि्सर २०७९ ०९:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.