चेतनको आत्मा र आफन्तलाई न्याय, हत्यारालाई कारवाही अनेरास्ववियुको संकल्प हो : बराल

नजिक न्युज संवाददाता    

चेतनको आत्मा र आफन्तलाई न्याय, हत्यारालाई कारवाही अनेरास्ववियुको संकल्प हो : बराल

बाजुरा : अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बरालले चेतना अयडीको हत्या नेपाली समाजले कल्पना समेत गर्न नसक्ने घटनाको संज्ञा दिएकी छन् । बाजुराको विकास र समृद्धिका लागि लडिरहेको र निष्पक्ष निर्वाचन मार्फत लोकतन्त्रलाई थप सुदृढ बनाउने अभियानमा रहेको योद्धाको विभत्स हत्या गरिनु दुखत विषय भएको बताएकी छन् ।

अनेरास्ववियु बाजुराले मार्तडीको लोकतान्त्रिक चोकमा आयोजित कोष सभालाई संवोधन गर्दै बरालले अमानवीय जंगली मानसिकता बोकेका सबै हत्यारालाई तत्काल कानुनी दायारामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् । किटानी जाहेरी दिँदा समेत प्रहरी प्रशासनले सुस्तगतिमा हत्यारा पक्राउ गर्ने काम गरिरहेकोले ढिलासुस्ती नगर्न आग्रह गरेकी छन् ।

हामीले एक सहकर्मी योद्धा गुमाएका छौं, अखिलको आन्दोलनको उर्जालाई सदाका लागि विदाइ गरेका छौं, यो शोकको समय हो, कुटेर, काटेर मार्नेको दृश्य सहीतको भिडियो हुँदा समेत हत्यारा पक्राउ गर्ने काममा ढिलासुस्ती हुनु राज्य माथि नै प्रश्न गर्नु पर्ने अवस्था आएको बताएकी छन् ।

बरालले न्याय मर्न नदिने र हत्यारालाई कुनै प्रकारको न्यायीक छुट हुन नदिने कुरामा अनेरास्ववियु प्रष्ट रहेको धारणा राखेकी छन् । हत्यारालाई कुनै कारण, कसैको संरक्षण र कुनै घटनासँग जोडेर छुट गर्ने कुराको सम्पूर्ण खबरदारी अनेरास्ववियुले गर्ने बताएकी छन् । भूगोल, आस्था, विचार र सिद्धान्त व्यक्तिगत अधिकारको विषय हो, त्यही विषयलाई लिएर समृद्धिको यात्रामा यात्री बनिरहेका योद्धालाई हत्या गर्ने कुरा बाजुराले सहनै नसक्ने बताएकी छन् । 

शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने र न्यायको माग गर्दै आन्दोलन गर्ने माथि नै प्रहरी प्रशासनले पक्राउ गरेर मुद्दा लगाउने कुरा लोकतन्त्र, विधीको शासन र मानव अधिकारका दृष्टीकोणमा अन्यायीपूर्ण भएकोले घटना नदोहोर्याउन अपिल गरेकी छन् ।

अनेरास्ववियुले हत्यारालाई कारवाही नगरिएसम्म आन्दोलन कायम राख्ने बताउँदै न्यायका लागि आन्दोलन गर्ने, साथ दिने सबैलाई धन्यवाद दिएकी छन् । अनेरास्ववियुले लोकतान्त्रिक चोकमा चेतन अयडीको सम्झनामा दीपप्रज्जलन समेत गरेको छ । कोष सभामा अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले पनि आफ्नो धारणा राखेका थिए । 

अनेरास्ववियुका अध्यक्ष सहीतको टोली बाजुरामा 

हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीको घटना बारे जानकारी लिन अनेरास्ववियुको केन्द्रीय टोली बाजुरा आइपुगेको छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल सहीतको टोली बाजुरा आइपुगेको हो । टोलीमा उपाध्यक्ष मोती विक, डिबी साउँद सहित सहभागि छन् ।

केन्द्रीय सदस्य अयडीको हत्याले सिंगो अखिल आन्दोलनलाई क्षति पुगेको बताएको अनेरास्ववियुले सिंगो नेतृत्व नै आफन्तलाई भेटघाट तथा समवेदनाका लागि टोली बाजुरा आएको अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटेले बताएका छन् । 

हत्याको प्रकृति, हत्यारा पक्राउ गर्न अखिलले सुरु गरेको आन्दोलन, प्रहरी प्रशासनबाट भएको दमन र हिंसा लगायतका विषयमा केन्द्रीय अध्यक्षको टोलीले जानकारी लिने भएको छ । टोलीले अयडीका आफन्तसँग भेटघाट, पार्टी कार्यालयमा राखिएको शोक पुस्तीकामा हस्ताक्षर र घरमा राखिएको फोटोमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको अनेरास्ववियुले बताएको छ ।

बाजुरा पुगेको केन्द्रीय टोलीलाई अनेरास्ववियुले भव्य स्वागत गरेको छ । उहाँहरुलाई बाउलीबाटै मोटर साइकल र्याली सहीत मार्तडी बजार पुर्याएर लोकतान्त्रिक चोकमा कोण सभा समेत गरिएको अनेरास्ववियुका नेता लक्ष्मण रोकायाले बताएका छन् । कोण सभामा अध्यक्ष सुनिता बरालले संवोधन गरेकी छन् । 

अनेरास्ववियुले हत्यारा पक्राउको माग सहीत देश व्यापी आन्दोलन सुरु गरेको छ । भने केन्द्री उपमहासचिव नरेश रोकाया नेतृत्वको छानवीन समिति बनाएर छानवीन समेत गरिरहेको छ । 



शुक्रबार १६, मङि्सर २०७९ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.