बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने

नजिक न्युज संवाददाता    

बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने

बाजुरा : बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ । राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत र निर्वाचन सुरक्षा समिति सहीतको सर्वपक्षिय बैठकले दिउँसो ३ ः ३० बजे बाट गणना सुरु गर्ने निर्णय गरेको छ । कब्जा गरिएका बुथमा पुन मतदानको माग गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले उजुरी दिएपनि गणना कार्य रोकिएको थियो ।

बुथको अवस्था र धाँधली बारे अध्ययन गर्न आएको निर्वाचन आयोगको टोलीले बुझाएको प्रतिवेदनका आधारमा आयोगले पुन मतदान नहुने निर्णय सुनाएको थियो । पुन मतदान नहुने भएपछि तत्काल मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।  

मतगणना गर्न आयोगको निर्देशन पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षिय र सर्वदलिय बैठक बोलाएको थियो । स्थानीय प्रहरी प्रशासनसँग भएका सहमति कार्यान्वन नभएको भन्दै नेकपा एमालेले सुरुका दुई बैठक बहिष्कार गरेको थियो । बिहिबार दिउँसो ११ बजे बसेको बैठकबाट मतगणना सुरु गर्ने सहमति भएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।

मतगणना नेकपा एमालेले १६ र नेपाली काँग्रेसले ८ वटा केन्द्रमा धाँधली सहीत बुथ कब्जा भएकोले पुन गणनाको माग सहीत रोकिएको थियो । आयोगले मतगणना रोकिएका दोलखा बाहेक स्याङ्जा र बाजुरामा पुन मतदान नगर्ने निर्णय गरेपछि दलहरु गणनामा सहमत भएका हुन् ।

नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरेर आयोगको निर्णय स्वीकार्ने बताउँदै आएको थियो । भने नेकपा एमालेले प्रहरी प्रशासनसँगकै मिलोमतोमा मान्छेको हत्या समेत गर्ने गरि कब्जा गरिएका बुथमा पुन मतदान हुनु पर्ने अडान राख्दै आएको थियो ।

सर्वदलिय बैठकबाट मत गणना सुरु गर्ने सबै दलका नेताहरुले सामुहीक सहमति जनाएर हस्ताक्षर गरेका छन् । मतगणना सुरुमा प्रतिनिधी सभाबाट सुरु गर्ने र संभव भए प्रदेश सभाको पनि गणना सँगै गर्ने सहमति भएको छ । 

मत गणना स्थलमा उम्मेदवारको तर्फबाट एक एक जना प्रतिनिधी मात्रै पठाउने, मत प्रतिनिधी सभाको गणना गर्दा फरक निर्वाचन क्षेत्र र प्रदेश सभाको गणना गर्दा फरक पालिकाको वडाको मत एकै ठाउँमा राखेर गणना गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा गणना स्थल राखिएको छ । 

निर्वाचन कार्यालयले छिटो गणना गर्ने गरि प्रबन्ध मिलाउने बताएको छ । बाजुरा ८३ हजार ५ सय ६७ मतदाता मध्ये ६० हजार १ सय ५२ मत खसेको छ । जसमा प्रदेश (क)मा २० हजार ९ सय ९४ र प्रदेश (ख) मा ३९ हजार १ सय ५८ मत खसेको अवस्था छ । 

 यता पुन मतदान बाहेक एमालेले अघि सारेका मागको पनि प्याकेजमै संवोधन हुने सहमति गरिएको छ । मंसिर ४ गते भएको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुरामा २ जना युवाले ज्यान गुमाएका छन् । भने दर्जन बढी घाइते भएका छन् । सन्जीव अयडीको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको छ । भने चेतन अयडीको स्थानीय काँग्रेस कार्यकर्ताले कुटीकुटी हत्या गरेको अवस्था छ । 



बिहिबार १५, मङि्सर २०७९ ०२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.