एमालेको रिले अनशन कायमै, हत्यारा पक्राउ र कब्जा बुथमा पुनः मतदानको माग

नजिक न्युज संवाददाता    

एमालेको रिले अनशन कायमै, हत्यारा पक्राउ र कब्जा बुथमा पुनः मतदानको माग

बाजुरा : नेकपा एमाले बाजुराले रिले अनशन जारी राखेको छ । विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहीत सुरु गरेको रिले अनशसन दोस्रो दिन पनि जारी राखेको छ । नेकपा एमाले विगत १० दिन देखि चरणवद्ध आन्दोलनमा छ । 

निर्वाचन आयोगले पुन मतदान नहुने र मतगणनाका लागि निर्देशन दिएपनि नेकपा एमालेले आफ्नो आन्दोलन जारी राखेको छ । नेकपा एमालेका युवा विद्यार्थी तथा नेताहरुले दोस्रो दिन पनि अनशन जारी राखेको विद्यार्थी नेता लक्ष्मण रोकायाले जानकारी दिएका छन् । 

एमालेले जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि खुला मञ्चमा अनशन बस्ने गरेको छ । मंसिर ४ गते बुथ कब्जा गर्न नदिएको बाहनामा घर भित्रैबाट तानेर कुटीकुटी हत्या गर्ने अयडीका हत्यारालाई पक्राउ गरिनु पर्ने र प्रहरी प्रशासनकै मिलोमतोमा नेपाली काँग्रेसबाट कब्जा गरिएका बुथहरुमा पुन मतदानको मिति घोषणा गरिनु पर्ने माग सहीत नेकपा एमाले चरणवद्ध आन्दोलन गरिरहेको छ । 

२२ जनाको नाममा किटानी दिएपनि हालसम्म ४ जनालाई मात्र पक्राउ गरेको, हत्या गरिएको घटनालाई ढिसमिल पार्न खोजिएकोभन्दै नेकपा एमाले आक्रोशित बनेको छ । एमालेले किटानी जाहेरीमा नाम उल्लेख भएका सबै जनालाई पक्राउ नगरेसम्म र कब्जा बुथमा पुन मतदान नगरिएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

मतगणनाका लागि सर्वपक्षिय र सर्वदलिय सहमति गरिनु पूूर्व हत्यारा पक्राउ गरिनु पर्ने, न्यायको आन्दोलनको बेला पक्राउ गरिएका ११ जना अनेरास्ववियुका विद्यार्थी नेताको विना सर्त रिहाइ गरिनु पर्ने र प्रमाणका आधारमा पुन मतदान गर्नु पर्ने मतदान केन्द्र पहिचान गरि मतदान गराउनु पर्ने माग राखेको छ ।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले हिजैबाट नेकपा एमालेलाई बैठकमा बोलाएको छ । तर एमाले बैठकमा सहभागि भएको छैन् । प्याकेजमा भएका सहमति कार्यान्वयन नभएसम्म आन्दोलन कुनै हालतमा नरोक्ने र मतगणनाको कुनै प्रक्रिया अघि नबढाउने निर्णय गरिएको एमाले पार्टी सचिव भरत थापाले बताएका छन् ।

राज्य सत्ताको चरम दुरुपयोग गर्दै, मान्छे मार्न लगाएर बुथ कब्जा गरेर जित्ने मनसाय राख्नेहरुका विरुद्ध न्याय र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु परेको एमालेले बताएको छ । विहान ११ बजे बैठकमा एमालेलाई बोलाएर छलफल गर्न खोजिएपनि एमालेले पूर्व सहमति कार्यान्वन नभएसम्म कुनै प्रक्रिया अघि नबढ्ने बताएका छन् । नेकपा एमालेले १६ वटा मतदान केन्द्रमा पुन मतदान गरिनु पर्ने माग राख्दै आएको छ ।

नेकपा एमालेले हत्यारालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउनु पर्ने, १६ बुथमा पुन मतदान हुनु पर्ने, ११ जना विद्यार्थीलाई विना सर्त रिहाइ गरिनु पर्ने, हत्या गरिएका चेतन अयडी र प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको परिवारले क्षतिपूर्ति र न्याय पाउनु पर्ने माग अघि सारेर आन्दोलन गरिरहेको छ ।  



बिहिबार १५, मङि्सर २०७९ ०१:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.