जातीय मुद्दा खेपिरहेका वडा अध्यक्ष चेतन हत्या काण्डमा पनि समातिए

नजिक न्युज संवाददाता    

जातीय मुद्दा खेपिरहेका वडा अध्यक्ष चेतन हत्या काण्डमा पनि समातिए

बाजुरा :  विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्न भएको आरोपमा त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी पक्राउ परेका छन् । जातीय विभेद तथा छुवाछुत घटनामा मुद्दा खेपिरहेका अयडी हत्या आरोपमा पुनः पक्राउ गरेका हुन् । 

अयडी एक महिना पहिला मात्र १ लाख धरौटीमा छुटेका थिए । दलित समुदायका व्यक्तिलाई मन्दिर पसेको भन्दै अयडीले कुटपीट तथा विभेद गरेका थिए । उक्त मुद्दामा महिना दिन बढी हिरासत बसेर धरौटीमा छुटेका अयडी फेरि हत्या आरोपमा पक्राउ परेका छन् । 

विद्यार्थी नेता चेतन अयडी हत्या गर्ने आरोपीत २२ जना मध्ये वडा अध्यक्ष अयडीको पनि नाम किटानीमा उल्लेख भएपछि पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सूर्य थापाले बताएका छन् । त्रिवेणी ७ स्थित नाटेश्वरी मन्दिरमा पुजा पाठन गर्न दलितलाई अनुमति नभएको भन्दै टेकेन्द्र सुनारलाई अयडी सहीत तीन जनाको टोलीले कुटपीट गरेका थिए ।

घटनामा संलग्न तीनै जनालाई जातीय विभेद तथा छुवाछुत कसुर सजाय ऐन अन्र्तगत कारवाही चलिरहेको छ । जिल्ला अदालतमा प्रतिव्यक्ति १ लाख घरौटी राखेका छुटेको एक महिना नबित्नै अयडी पुनः पक्राउ परेका छन् । वडा अध्यक्ष अयडीले चेतन अयडीको हत्या योजना बनाए, घरमै पठाएर कुटीकुटी हत्या गर्न लगाएको परिवारको आरोप छ ।

वडाध्यक्ष अयडीसँगै मुद्दा खेपिरहेका अर्का एक जना पनि हत्या आरोपमा पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन देखि नै अयडीले चेतन माथि मार्ने षड्यन्त्र र योजना बनाइरहेको आरोप आफन्तको छ । स्थानीय तह निर्वाचन समेत बुथ कब्जा गरेर हिंसात्मक गतिविधी गरेरै जितेको आरोप अयडी माथि छ । 

जातीय विभेद तथा छुवाछुत कसुर सजाय ऐन अन्र्तगत मुद्दा खेपीरहेका अयडीलाई दोहोरो मुद्दा लागेको छ । पहिलोकै अपराधको छानवीन नहुँदै अर्को मुद्दामा संलग्न देखिएपछि अध्यक्ष अयडीको व्यवाहारमै शंका उत्पन्न भएको प्रहरी श्रोतले बताएको छ ।  

चेतन अयडीको परिवारले वडाध्यक्ष अयडीलाई नायके मध्येको एक भनेर किटानी दिएको छ । कोठा भित्र लुकेको व्यक्तिलाई कुरा गरौ, भन्दै बाहिर बोलाउन लगाएर कुटीकुटी मारेको आरोप अध्यक्ष माथि छ । चेतन अयडीको हत्या आरोपमा २२ जनाको नाममा किटानी जाहेरी दर्ता भएको छ । 

किटानी उजुरीमा नाम उल्लेखित २२ जना मध्ये ४ जना पक्राउ परिसकेका छन् । चार जना मध्ये १ जना महिला छन् । प्रहरीले अनुसन्धान भइरहेकोले ढिलो चाँडो पक्राउ पर्ने बताएको छ । 

जनप्रतिनिधी नै अपराध कार्यमा संलग्न भएपछि सेवा प्रवाह अस्तव्यस् बनेको छ । विपक्ष आस्थाराख्नेले वडामा सेवा लिन जानै छोडेको अवस्था छ । एउटा मुद्दा चलिरहेको अवस्थामा पुनः अर्को मुद्दामा जोडिएपछि वडाध्यक्षको चरित्र माथि नै आशंका गर्न थालिएको छ । अयडीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासदमा राखिएको छ । 



बिहिबार १५, मङि्सर २०७९ ०१:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.