बाजुरा : विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारवाही गर्न नेकपा माओवादीले माग गरेको छ । सातादिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएकाहरुलाई पक्राउ समेत नगरिएको प्रति नेकपा माओवादी केन्द्र बाजुरामा आवद्ध जनसंगठनले ध्यानाकर्षण गराएका छन्् ।
पार्टी नेता तथा जनसंगठनका तर्फबाट सयुक्त रुपमा जारी प्रेस विज्ञप्ती मार्फत माओवादीले हत्यारालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउन माग गरेको छ । घरभित्रबाट बाहिर तानेर कुटीकुटी हत्या गर्ने हत्यारालाई कुनै पक्षबाट पनि संरक्षण गरिए त्यो मानवता माथिकै अन्याय हुने तर्फ सचेत हुन विज्ञप्ती मार्फत ध्यानाकर्षण गराइएको छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष एवं समानुपातिक तर्फका उम्मेदवार कमल कुमारी शाह, अनेमसंघ क्रान्तिकारीका अध्यक्ष जानकी बुढा, अखिल क्रान्तिकारीका अध्यक्ष खेमराज साउँद, वाइसीयलका जिल्ला इन्चार्ज निर्मला कुमारी विष्ट र गणेश राज गिरीको सयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी गरेको छ ।
चेतन अयडी हत्या काण्डमा माओवादी पहिलो पटक आधिकारीक रुपमा बोलेको हो । निर्मम तरिकाले कुटपीट गरि हत्या गरिएको प्रति नेकपा माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको र हत्यारालाई कारवाहीका लागि प्रहरी प्रशासनका तर्फबाट ढिलासुस्ती नगर्न पनि आग्रह गरेको छ ।
मंसिर ४ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडी र चेतन अयडी दुबै जनाको परिवारलाई क्षतिपूर्ति, दोषीलाई कारवाही र घटनाको निष्पक्ष छानवीनको माग माओवादीले गरेको छ । शव समेत बुझ्ने वातावरण नबनाउनु दुखद विषय भएकोले सबै पक्ष जिम्मेवार र सचेत हुन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको शव बुझेर आफन्तले दाह संस्कार गरिसकेका छन् । भने चेतन अयडीको शव बाजुरा जिल्ला अस्पतालमै राखिएको छ । आफन्तले हत्यामा संलग्न २२ जनाको नाममा कर्तव्य जान मुद्दामा किटानी जाहेरी दिएका छन् । प्रहरीले अहिलेसम्म २ जना बाहेक नियन्त्रणमा लिएको छैन् । हत्या आरोपमा किटानी गरिएका व्यक्तिहरु सामाजिक सञ्जालमा देखिने गरेपनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस