हत्यारा पक्राउको माग गर्दै अनेरास्ववियुद्धारा तीनदिन देखि बाजुरा ठप्प

नजिक न्युज संवाददाता    

हत्यारा पक्राउको माग गर्दै अनेरास्ववियुद्धारा तीनदिन देखि बाजुरा ठप्प

बाजुरा : विद्यार्थी नेता चेयन अयडीको हत्यामा संलग्नहरुलाई पक्राउको माग राखेर अनेरास्ववियुले बाजुरा ठप्प पारेको छ । जिल्लाका सबै होटल पसल, सरकारी तथा गैर सरकारी कार्यालय पूर्ण रुपमा बन्द गराएर सडक आवागमनलाई समेत ठप्प पारिएको छ । 

मंसिर ४ गते भएको संघ र प्रदेश सभा निर्वाचनको दिन घरमा लुकेर बसेका आफ्ना नेता माथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपीट गरेर हत्या गरेको आरोप अनेरास्ववियुको छ । आफन्तले २२ जना हत्याराको नाममा किटानी जाहेरी दिइसक्दा समेत नियन्त्रणमा लिन प्रहरी प्रशासन मौन देखिएको आरोप विद्याथी नेता लक्ष्मण रोकायाको छ । 

हत्याराहरु गाउँमा खुलेआम हिँडिरहेका छन् । तर बाजुराको प्रहरी प्रशासन मुख दर्शक बनिरहेको छ । लोकतन्त्र र विधीको शासन भएको देशमा खुलेआम हत्यारालाई संरक्षण दिने प्रहरी प्रशासनको लाचारीपनका विरुद्ध आन्दोलन गरिएको अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन् ।

नेपाली काँग्रेसका कार्यकर्ताबाट हत्या गरिएका चेतन अयडी अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बाजुरा क्याम्पसका स्ववियु सभापति हुन् । विद्यार्थी नेताको निर्मम हत्या गरिएको आक्रोशमा अनेरास्ववियुले सिंगो बाजुरा तीनदिन देखि ठप्प पारेका छन् । कोल्टी, मार्तडी, ताँप्रीसेरा, बाम्का, बेतालमाण्डौ लगायतका सबै बजार बन्द गराइएको छ ।

साँफे मार्तडी सडक खण्ड देखि अन्य ग्रामिण सडकको आवागमन ठप्प पारिएको छ । बजारमा नाराजुलुस सहीत सयैको संख्यामा अनेरास्ववियुका नेता कार्यकर्ता मात्र भेटिने गरेका छन् । टायर बाल्ने, नारा जुलुस गर्ने, कोण सभा गर्ने जस्ता गतिविधीले बजार क्षेत्र तनाब ग्रस्त बनेको छ । 

२२ जना अपराधीहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि नबढाएसम्म बन्द जारी राख्ने अनेरास्ववियु बाजुराका सचिव हिक्मत रोकायाले बताएका छन् । अनेरास्ववियुको आन्दोलनमा युवा संघ, अखिल नेपाल महिला संघ, नेपाल खेलकुद महासंघ, युथ फोर्स लगायतका जनसंगठनले समर्थन दिएका छन् । 

१७ स्थानमा सत्ता र शक्तिको आडमा बुथ कब्जा गरेको, आफ्ना कार्यकर्तालाई कुटीकुटी मारेको आरोप सहीत अनेरास्ववियु र एमाले निकट अन्य जनसंगठनहरु प्रतिवादको जवाफी शैलीमा उत्रिएको अवस्था छ । मार्तडी लगायतका बजारमा सयैको संख्यामा सुरक्षा फोर्स खटाइएको छ । तरपनि अनेरास्ववियुको बन्दले उग्ररुप लिदै गएको छ । 

जिल्ला अस्पतालमा राखिएको शव समेत नउठाउने अडानमा परिवार छन् । हत्यारा पक्राउ नगरिएसम्म लाज नबुझ्ने परिवारको अडानमा अनेरास्ववियुले पनि साथ दिएको छ । बजार क्षेत्र भयवित बनेको देखिन्छ । बजार क्षेत्र धुँवा, धुलो र कोलाहलले थप त्रसित बनेको अवस्था छ । 

यता स्थानीय प्रहरी प्रशासनले बन्द नरहेको बताएपनि विद्यालय समेत बन्द अवस्थामा छन् । मार्तडी स्थित बाल मन्दिर आधारभूत विद्यालयमा सशस्त्र प्रहरी बल राखिएको छ । जहाँ विद्यालय सञ्चालन गर्ने कुनै अवस्था नै छैन् । जिल्लाको दैनिक जनजीवन अस्तव्यस्त र भयवित बन्दै गएको छ । 



बुधबार ०७, मङि्सर २०७९ ०६:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.