विद्यार्थी नेता अयडीको हत्याको विरोधमा अनेरास्ववियु आन्दोलित, बाजुरामा सुरक्षा चुनौति

नजिक न्युज संवाददाता    

विद्यार्थी नेता अयडीको हत्याको विरोधमा अनेरास्ववियु आन्दोलित, बाजुरामा सुरक्षा चुनौति

बाजुरा : मतदान स्थलबाट घर फर्किसकेपछि घरबाट तानेर विद्यार्थी नेता चेतन अयडीको हत्या गरेको आरोप सहीत अनेरास्ववियु बाजुरा आन्दोलित बनेको छ । हत्यामा संलग्नलाई नियन्त्रणमा लिइ तत्काल घटनाको छानवीन गरि दोषिलाई कारवाहीको माग सहीत अनेरास्ववियुले आन्दोलन सुरु गरेको हो । अयडी अनेरास्ववियुका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कमिटीका अध्यक्ष र बाजुरा क्याम्पसका स्ववियु सभापति हुन् । 

सामुहीक आक्रमण गरि हत्या गर्ने कार्यमा संलग्नलाई नियन्त्रण नलिएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु बाजुराले बताएको छ । मार्तडी लगायतका बाजुराका अधिकांश बजार बन्द गरेर आन्दोलनमा उत्रिएको अनेरास्ववियुले बाजुराको प्रहरी प्रशासनको चरम लापरवाहीले घटना भएको आरोप लगाएको छ । 

त्रिवेणी नगरपालिका ७ नाटेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्रमा फर्जिमत खसाउन अवरोध गरेको आक्रोशमा अनेरास्ववियुका नेता चेतन अयडी लगायतलाई नेपाली काँग्रेसका कार्यकर्ताले मतदान स्थलबाट कुटपीट सहीत लखेटेका थिए । एमाले कार्यकर्तालाई लखेटेर बुथ कब्जा गर्ने प्रयास गरेपछि पुनः प्रहरीले अवरोध गरेको थियो । 

प्रहरीले अवरोध गरेको विरोधमा मतपेटीका नै कब्जा गर्ने गरि आक्रमण प्रयास गरिएको र हतियार समेत खोसेर काँग्रेसका कार्यकर्ताले प्रहरी माथि नै ढुंगा मुडा गरेको प्रत्यक्ष दर्सीले बताएका छन् । सोही भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता सन्दीप अयडीको मृत्यु भएको थियो । छातीमा गोली लागेपछि अयडीको घटना स्थलमै मृत्यु भएको हो ।

प्रहरी माथि नै आक्रमण भएपछि एक जना हवल्दार गम्भीर घाइते नै भएका छन् । आपसी विवादपछि एमाले नेता कार्यकर्ता मतदान स्थल छोडेर भागेको र पछि सिंगो बुथ कब्जाको रणनीतिमा काँग्रेस सफल भएको स्थानीयको दाबी छ । त्यही भीड मतदान स्थलबाट करिब १० मिनेटको दुरीमा पर्ने आफन्तको घरमा बसेका अयडीलाई काँग्रेस कार्यकर्ताले घरभित्रबाट तानेर आक्रमण गरेका थिए । 

घाइते अवस्थामा घरभित्र सुतिरहेका अयडीलाई घर बाहिर निकालेर लाठी र ढुंगाले हानेको आफन्तले बताएका छन् । मरिसक्यो भनेर काँग्रेस कार्यकर्ता भागेर गएपछि बचाउने प्रयास सहीत आफन्तले गाडीको प्रबन्धको माग गरेका थिए । तर स्थानीयको अवरोधको बाहनामा स्थानीय प्रहरी प्रशासनले ४ घण्टा ढिलो गरि राती १० बजेपछि मात्रै गाडीबाट बोकेर बयलगडा अस्पताल लिएको थियो । तर त्योसम्म सम्म अयडीको मृत्यु भइसकेको आफन्तले बताएका छन् ।

अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको बेवास्ताका कारण उद्दारमा ढिलाई भएको र २ जनाको ज्यान जाने अवस्था आएको स्थानीय आफन्त समेत रहेका गगन अयडीले बताएका छन् । अयडीको हत्याको विरोधमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विरोध गरेकी छन् ।

विज्ञप्ती जारी गर्दै सत्ता र शक्तिको बलमा काँग्रेस कार्यकर्ताको अमानवीय व्यवहारको भत्र्सना सहीत हत्यामा संलग्न सबैलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेकी छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले समेत घटनाको निन्दा गर्दै दोषी माथि कारवाहीको माग गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउन ढिलाई गर्ने हो, भने अनेरास्ववियुले नै उपचार गर्ने सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । यता प्रहरी प्रशासनले नहुनु पर्ने घटना भएको बताएको छ ।

सहज बनाउन प्रयास गरिएपनि सफल नभएको र दुखत घटना घटेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् । सुरक्षाकर्मी मतपेटीका सुरक्षा गर्दा काँग्रेस कार्यकर्ताले अयडी माथि निर्घात आक्रमण गरेको आरोप छ । आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । 

कुटपीटबाट मृत्यु भएका चेतन अयडीको शव पोष्टममार्टमका लागि बाजुरा जिल्ला अस्पताल मार्तडीमा ल्याउने तयारी छ । प्रहरीको गोली लागेर मृत्यु भएका सन्जीव अयडीको शव पनि मार्तडी नै ल्याउने तयारी छ । बाजुराका १२ बढी मतदान केन्द्रमा काँग्रेसले प्रहरी प्रशासनसँग मिलेर बुथ कब्जा गरेको आरोप सहीत नेकपा एमालेले पुन मतदानको माग गरेको छ । 

मतगणना स्थल मा नै पुगिसकेका मतपेटीमा नै खुला अवस्थामा आइपुगेको, बुढीगंगा नगरपालिका ४ मा एमालेको सूर्य चिन्हमा मनदान गरिएका मत पत्र मतपेटीका बाहिर नै फालिएको अवस्था देखिएको छ । 

धाँदली भएको केन्द्रमा पुन मतदान गरिनु पर्ने अडानमा एमाले प्रष्ट देखिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रदेश ख का उम्मेदवार लालबहादुर थापाले बताएका छन् । काँग्रेसले भने दोहोरो झडपमा कुटाकुटा हुँदा दुबै पक्षमा क्षति भएको र चुतन अयडीले ज्यान गुमाउनु परेको बताएका छन् । 

बाजुरामा चुनावी झडपको श्रखला नौलो होइन् । बहुदल आएपछिका सबै निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको झडप र विवाद नियमिच चलिरहेको परम्परा जस्तै देखिन्छ । त्यसको निरन्तरता मंसिर ४ मा भएको संघ र प्रदेश सभाको निर्वाचनमा समेत देखिएको छ ।

७० वटा मतदान स्थल छन् । ती मध्ये ३० बढीमा मतदान केन्द्र नियन्त्रणमा लिने प्रयास गरिएको छ । भने करिब २० वटामा प्रत्यक्ष रुपमा कब्जा नै गरिएको अवस्था छ । नेपाली काँग्रेस र एमालेले एक अर्कालाई विवाद र झगडाको सुरुवाद गर्ने गरेको आरोप लगाउने गरेका छन् । 

२०४८ साल देखि हालसम्म विवाद रहीत कुनै निर्वाचन बाजुरामा भएका छैनन् । २०५४ सालको स्थानीय निकाय, २०७४ को स्थानीय तह र २०७९ को संघ प्रदेशको निर्वाचनमा मान्छेको ज्यान समेत गएको छ । यो पटक मात्र २ जनाले ज्यान गुमाएका छन् । भने सुरक्षाकर्मी सहीत दुई दर्जन बढी घाइते भएका छन् । 

बाजुरामा यो पटक बुढीगंगा ४ र ७, स्वामिकात्र्तिक ३ र ५ हिमाली ४, ५ र ६, त्रिवेणी २, ३, र ७, खप्तड छेडेदह गाउँपालिका २ र ४ बुढीनन्दा नगरपालिका ७ र ९ जगन्नाथ गाउँपालिका २ नेपाली काँग्रेस सहीत गठबन्धनले बुथ नै कब्जा गरेको आरोप सहीत पुन मतदानको माग एमालेले गरेको छ । 

यता बुढीगंगा १, २ र ९, गौमुल १, बुढीनन्दा ४ मा नेकपा एमालेले कब्जा गरेको आरोप गठबन्धनको छ । विचार, एजेण्डा र नीति सिद्धान्तभन्दा पनि बलपूर्वक मतदाता प्रभावमा राख्ने नियत दलका नेता तथा उम्मेदवारको हुने गरेको सर्वसाधारकै आरोप छ । जसरी पनि जित्नु पर्ने दाउमा उम्मेदवार हुने र त्यसमा मारमा प्रत्यक्ष रुपमा मतदाता नै पर्ने गरेका छन् । 

बुढीनन्दा ७ मा ५० कटेका नन्दाराम जेठारा सहीतलाई आक्रमण गरिएको छ । नेपाल प्रहरीका जवान नै गम्भीर घाइते छन् । त्रिवेणी ३ र ७ मा आधा दर्जन बढी एमाले राप्रपाका कार्यकर्ता घाइते छन् । बुढीगंगा १ मा काँग्रेस कार्यकर्ता माथि आक्रमण गरिएको छ । यतबिेला घटना स्थल त्रिवेणी ७ त्रसित बनेको छ । मार्तडी बजार नै तनावपूर्ण देखिन्छ । यो घटना किनारा नलागेसम्म बाजुरामा पुन मतदान र मतगणना हुने अवस्था नै छैन् । 



सोमबार ०५, मङि्सर २०७९ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.