माओवादीले बाजुरामा बद्री पाण्डेलाई भोट नमाग्ने, प्रदेशमा आफ्नैलाई मतदान गर्ने

नजिक न्युज संवाददाता    

माओवादीले बाजुरामा बद्री पाण्डेलाई भोट नमाग्ने, प्रदेशमा आफ्नैलाई मतदान गर्ने

बाजुरा : नेकपा माओवादी केन्द्र बाजुराले गठबन्धनबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका बद्री पाण्डेको पक्षमा मत नमाग्ने भएको छ । गठबन्धनका शिर्ष नेताहरुको सहमति अनुसार अघि सारिएका माओवादी केन्द्रका उम्मेदार कर्णबहादुर विक केशवलाई काँग्रेसले स्वीकार नगरेपछि आफू खुसी मतदान गर्ने निष्कर्षमा माओवादी केन्द्र बाजुरा पुगेको हो ।

नेपाली काँग्रेसले नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहीलाई समर्थन गर्ने पक्कापक्की देखिएपछि माओवादीले गठबन्धन बाहिर रहेर स्वतन्त्र मतदान गर्ने नीति लिएको माओवादी केन्द्रका नेता सुरेश विकले बताएका छन् । आधिकारीक उम्मेदवार र सिंगो पार्टीको अस्तित्व नै स्वीकार नगर्ने काँग्रेसलाई समर्थन गर्न नसकिने विकले बताएका छन् ।

बाजुरामा करिब ४ हजार जनमत भएको तेस्रो दलको उम्मेदवारलाई स्वीकार नगरेपछि गठबन्धनको नाममा काँग्रेसका उम्मेदवारलाई सहयोग गर्न आवश्यक नरहेको माओवादीले बताएको छ । माओवादी केन्द्रले प्रदेश निर्वाचन क्षेत्र (क) मा पार्टीका उम्मेदवार कर्णबहादुर विक केशवलाई मतदान गर्ने भएको छ । भने प्रतिनिधी सभा र प्रदेश निर्वाचन क्षेत्र (ख) मा माओवादी आस्थावानलाई मतदानका लागि स्वतन्त्र छोड्ने नीति लिएको छ । 

असोज २३ गते काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार सामुहीक नाराबाजी सहीत उम्मेदवारी दर्ता गराएका थिए । साँझ समाजवादीले पनि उम्मेदवारी दर्ता गराएपछि बाजुरा गठबन्धनमा विद्रोह भएको हो । सुरुमा माओवादी र समाजवादी कस्लाई सहयोग गर्ने भन्नेमा काँग्रेसका नेताहरु पनि दुई पक्षमा विभाजीत देखिएका थिए । तर अन्तिममा आएर समाजवादीलाई नै साथमा लिएर हिँडेका छन् ।

जनमत नै नभएको पार्टीलाई साथमा लिएर सिंगो माओवादी पार्टी, पार्टीका उम्मेदवार कर्णबहादुर विक र सिंगो दलित आन्दोलनको अगुवाको अस्तित्व स्वीकार नगरेको आरोप सहीत माओवादीले गठबन्धनलाई इमान्दारी पूर्वक मतदान गर्न नसक्ने सन्देश दिइसकेको छ । माओवादीले आफ्नो उम्मेदवार बाहेक अरुको हकमा अनिवार्य मतदान गर्न बाध्य नपार्ने बताएको छ । 

बाजुरामा स्थानीय तह मतपरिणाम हेर्दा काँग्रेससँग २३ हजार, माओवादी ३ हजार ९ सय र समाजवादी १ हजार ३ सय मत छ । माओवादीले काँग्रेसका उम्मेदवार बद्री पाण्डे र पदम शाहीलाई अनिवार्य मतदानका लागि मतदातालाई बाध्य नपार्ने नीति लिएपछि त्यसको प्रत्यक्ष फाइदा पनि नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा र लालबहादुर थापालाई पुग्ने देखिन्छ । 

काँग्रेस नेताहरुले पनि आफूहरुको कसैलाई समर्थन नरहेको र दुबै उम्मेदवार मिल्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् । गठबन्धनमा इमान्दारी पूर्वक सहकार्य हुनु पर्ने अडानमा काँग्रेस नेताहरु लागेपनि माओवादीले आफूलाई साथ नदिएपछि गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्ने भएको छ । 



सोमबार २८, कार्तिक २०७९ ०७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.