बदर मत घटाउन बाजुरामा नमुना मतदान शिक्षा सुरु

नजिक न्युज संवाददाता    

बदर मत घटाउन बाजुरामा नमुना मतदान शिक्षा सुरु

बाजुरा : बाजुरामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय बाजुराले नमुना मतदान कार्य सञ्चालन गरेको हो । 

स्थानीय तहसंगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम आज गौमुल गाउँपालिकाबाट सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुरा प्रमुख नवराज अवस्थीले बताएका छन् । आगामीक मङ्सिर ४ गतेको निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ ।

आम मतदाताहरुलाई मतदानप्रति आकर्षण गराउन र मदर मत प्रतिशत घटाएर सदर मतको संख्या बढाउने मुख्य उद्देश्य सहीत नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको प्रमुख अवस्थीले बताए । प्रत्येक स्थानीय तहको कुनै एक स्थानमा नमुना मतदान कार्य सहीत शिक्षा दिने कार्यक्रम रहेको छ । ९ वटै स्थानीय तहका एक स्थानमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने उहाँले बताए । 

त्यस्तै प्रत्येक वडामा मतदाता शिक्षाका लागि स्वयंमसेविका समेत खटाईने भएको छ । घट्मुनामा आज स्वयंमसेविकालाई मतदानको बारेमा जानकारी गराई नमुना मतदान सामाग्री सहीत सिकाउन लगाईएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका विषयमा जानकारी गराएको थियो ।

निर्वाचन कार्यालयको टोलीले घट्मुनाका स्थानीयलाई प्रत्यक्ष रुपमा नमुना मतदान गराएर सिकाईएको थियो । स्थानीय नमुना मतदानमा सहभागि भई मतदान गरेका थिए । मतदानपछि मत सदर र बदरका विषयमा समेत सिकाईएको थियो । भोली बुढीगंगा नगरपालिकामा नमुना मतदान शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यही कात्तिक १८ गतेदेखि मुलुकभरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । महिला स्वास्थ्य स्वयंमसेविकाद्धारा १५ दिनसम्म घरदैलो कार्यक्रम गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।



बुधबार १६, कार्तिक २०७९ ०७:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.