आटीचौरको आकाशमा विशालको प्याराग्लाइडिङ यात्रा

नजिक न्युज संवाददाता    

आटीचौरको आकाशमा विशालको प्याराग्लाइडिङ यात्रा
आटीचौरको आकाशमा प्याराग्लाइडिङ गर्दै विशाल बुढा ।

बाजुरा : धेरै जनालाई त विश्वास नै थिएन्, विशाल बुढा प्याराग्लाइडिङका सोलो पाइलट हुन् भन्नेमा । जब आफ्नै गाउँमाथिको आकाशमा उडे अनि देख्ने जति आफन्त र छिमेकी सबैले विश्वास गरे । गाउँमै बढेको, हुर्केको अनि पढेको केटाले यत्रो प्रगति कसरी गर्न सकेछ, भनेर कतिपय आश्चर्य चकित पनि भए । 

प्याराग्लाइडिङ गर्दाको दिन हजारौं स्थानीय जम्मा भएका थिए । विशाल आकाशमा उडिरहँदा कतिजनाले साहस प्रंशसा गरिरहे । विशाल आकाशमा प्याराग्लाइडिङको यात्रामा हुँदा कतिपय बुढापाकाले चिन्ता समेत व्यक्त गरे, स्वयम आफै डराएको दृश्य थियो । किनकी त्यो ठाउँका लागि प्याराग्लाइडिङ नयाँ र नौलो अभ्यास थियो ।

No description available.बेलुनको डोरीमा झुण्डिएर आकाशमा उड्न स्थानीयका लागि अनौठो र असंभव हो, जस्तै थियो । तर सानै उमेर देखि घुमफिर गर्ने र नयाँ विषयको खोजि गर्न रुचि राख्ने विशालले आफ्नै गाउँको आकाशको प्याराग्लाइडिङ यात्रा संभव रहेको पुष्टी गरिदिए । 

खप्तड छेडेदह गाउँपालिका ७ स्थित बडालेकबाट विशालले प्याराग्लाइडिङ यात्रा गरेका हुन् । चारै तिर पहाडले घेरिएको सानो उपत्यकाका रुपमा रहेको आटीचौरको आकाशमा विशालको नै पहिलो प्याराग्लाइडिङ यात्रा थियो । उनी २ हजार ८ सय मिटरको उपचाइबाट उडेका थिए । 

बाजुरालाई व्यवसायीक प्याराग्लाइडिङ गर्न वैधानिक रुपमा अनुमति छैन् । तर विशालले आफूले सिकेको सिप आफ्नै आफन्तलाई देखाउन र संभाव्यता बारे अध्ययन गर्न साहस गरेका हुन् । सिकेको सिप आफन्त र छिमेकीलाई देखाउने ठूलो रहर थियो, त्यही पुरा गर्न र सुन्दर नगरि आटीचौरलाई प्याराग्लाइडिङको संभावनाबारे बुझ्न उडान भरेको विशालको भनाई छ ।

उमरेले २४ पुगेका विशाल पोखरामा प्याराग्लाइडिङ क्षेत्रको व्यवसायीक पाइलट बन्ने सपना सहीत संघर्षमा छन् । माध्यमिक तहको शिक्षा गाउँकै दशरथ माविबाट सकाएर कंचनपुरको महेन्द्र नगर पुगेका थिए । कक्षा ११ र १२ को पढाइ सकाएर काठमाडौं छिरेका विशाल आफ्नै संघर्षले त्यो पेशामा जोडिएका हुन् ।

तल्लो कक्षा देखि नै राम्रो पढाइ भएका विशाललाई घरपरिवारले पढाइ खर्च दिन सक्ने अवस्था नै थिएन् । आतेजाते भाडा दिन पनि मुस्किल थियो । त्यही अवस्था बुझेर विशालले राती होटलमा काम गर्ने, दिनमा समान ओसार पसार गर्ने र विहान कलेज जाने गरेका थिए । केही गर्नु पर्छ, र अरुले भन्दा फरक गरेर देखाउने सोचकै कारण आफूले पर्यटन व्यवसायसँग सम्बन्धी पेशा रोजेको उनको भनाई छ ।

संभव त, सिंगो प्रदेशकै विशाल प्याराग्लाइडिङ क्षेत्रको एक्लो पाइलट हुन् । रहर लाग्यो, पर्यटक घुमाउने काम पनि गरेँ, दुख कस्तो हुन्छ सबै बुझेपछि घरान गएर प्याराग्लाइडिङ पाइलटको कोर्स पढेको विशालले सुनाए । हाल उनले १८ महिनामा १ सय बढी उडान गरेर सोलो पाइलटको प्रमाण पत्र लिइसकेका छन् ।

अबको वर्षदिन भित्र फेरि ट्यान्डम पाइलटको कोर्स सक्ने योजना विशालसँग छ । एउटा दुर्गम गाउँमा जन्मिएर आफ्नै संघर्षबाट केही फरक गर्न खोजेको प्रति स्थानीय उत्साहीत छन् । आटीचौरको आकाशमा उडेको दिन विशाललाई सयै स्थानीयले फूल अविरले स्वागत सहीत अभिनन्द समेत गरेका थिए ।

हाम्रो सम्पत्ती नै जन्मिएको भन्ने फिल भयो, यत्रो प्रगति कल्पना पनि थिएन् । सबै आफ्नै कमाइ, आफ्नै मेहनत र आफ्नै गाउँका लागि गर्ने सोच नै हाम्रा लागि महान छ, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । 

No description available.स्थानीयका तर्फबाट सर्वाधिक धनराशीको चौथो छेडेदह कप फुटबलको अवसर पारी छेडेदह स्पोर्टस क्लब, गाउँपालिका सबैले विशाललाई सम्मान समेत गरेका छन् । करिब एकदशक सम्म संघर्षकै जीवन बिताउन घर भन्दा टाढा बसेका विशालको प्रगतिमा आफन्तले खुसीले आँशु नै खसाएका थिए । 

बाजुरामा प्याराग्लाइडिङ नयाँ थियो । नेपालमा पोखरा, बन्दीपुर, शंखरापुर, धरान लगायत केही सीमित ठाउँमा मात्रै व्यवसायीक प्याराग्लाइडिङ गर्ने गरिएको छ । आटीचौर पनि प्याराग्लाइडिङका लागि धेरै संभावना रहेको विशाल बुढाले बताए । २८ सय मिटरबाट उड्दा पनि कुनै असहज लागेन्, हावाको गति देखि सब ठिक मात्राको थियो, यहाँ धेरै संभावना छन्, स्थानीयले सहयोग गरे, म अगुवाइ गर्न तयार छु, विशाले भने ।

आकाशमा उड्दा आनन्द लागेपनि, यो यहाँका स्थानीयको जीवनशैली माथि उकास्न र पर्यटन क्षेत्रका रुपमा विकास गर्न प्याराग्लाइडिङ व्यवसायले ठूलो टेवा पुग्ने स्थानीय समेत रहेका सामाजिक अभियान्ता लालबहादुर ओलीले विश्वास व्यक्त गरे । विशाल आटीचौरको आकाशमा करिब ४० मिनेट बढी उडेका थिए ।

प्याराग्लाइडिङ चारैतिर हरियाली सहीतको प्रर्याप्त जंगल क्षेत्र, समथर भूमि भएको सानो उपत्यका, जिल्लाकै ठूलो ताल छेडेदह, बाइसे राज्य अन्र्तगतको कुडीकोट दरबार, डाँडासैन पार्क भएको क्षेत्रको अनुगमन गर्न सकिने अवस्था छ । सोही ठाउँमा अन्र्तराष्ट्रिय मापदण्डको फुटबल मैदान निर्माण भइरहेको छ ।

No description available.विशाल बुढाको साहसले आटीचौरलाई नयाँ संभावनाको उजागर गरेको र स्थानीय पालिकालाई समेत केही गर्न सन्देश दिएको स्थानीय अगुवा चन्द्र नाथले बताएका छन् । विशालले पनि बडालेक क्षेत्रबाट प्याराग्लाइडिङ गर्न निकै सहज भएको बताए । जति पनि आकाशमा खेल्न सकिने अवस्था देखियो, अनुमति लिएर व्यवसायीक उडान गर्दा राम्रो हुने विशालको भनाई छ ।

आटीचौर क्षेत्र रारा खप्तडको प्रमुख पैदल तथा सवारी मार्गको बीचमा पर्ने भूभाग हो । हरेक संभावनाले भरिएको क्षेत्रको विकासका लागि स्थानीय तह जिम्मेवार हुनु पर्ने सुझाव स्थानीयको छ । पालिका स्तरबाटै केही गर्न सकिए बाजुरा प्याराग्लाइडिङको हबका रुपमा विकास हुने अवस्था छ । 

No description available.



सोमबार १४, कार्तिक २०७९ ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.