बाजुरा : प्रेम ताल अर्थात छेडेदह तालको आँगनमा बाजुराली स्रष्टाले सिर्जना वाचन गरेका छन् । दशैं तिहारको अवसरमा गरिएको सिर्जना वाचन तथा साँस्कृतिक कार्यक्रममा छेडेदह तालको आँगनमा आयोजना गरिएको हो ।
प्रकृतिको अनुपम उपहार छेडेदह क्षेत्रको प्रवद्र्धन विकास र प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गर्ने गरिएको छ । कार्यक्रम छेडेदह साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । दशैं तिहारको अवसरमा आपसी सद्भाव र सहकार्यका लागि र छेडेदह तालको प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गर्ने गरेको अध्यक्ष गणेश बुढाले बताएका छन् ।
छेडेदह जिल्लाकै ठूलो र आकर्षक ताल हो । बोटिंगको सुविधा उपलब्ध तालमा हरेक प्रेम जोडिले अनिवार्य जानै पर्ने भन्ने मान्यता रहेको छ । जिल्लाका स्रष्टाको सम्मान, कला साहित्य क्षेत्रको प्रर्वद्धन र विकासमा कार्यक्रमले ठूलो योगदान पुग्ने खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।
रावत नै प्रमुख अतिथि रहेको कार्यक्रममा डेढ दर्जन बढी कलाकार र साहित्यकारले प्रस्तुती दिएका थिए । चर्चीच देउडा खेलाडी राइकला बुढा र पदम कठायत बीचको देउडा खेल समेत प्रर्दशन गरिएको थियो ।
तालको संरक्षण र आकर्षण बढाउन अति जरुरी रहेकोले त्यसका लागि पालिकाले ठोस योजना अघि सार्ने पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । कला साहित्य क्षेत्रको माध्यमबाट तालको महिमा, वर्णन र ब्याख्याले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने रावतले धारणा राखेका छन् ।
कार्यक्रममा बिशिष्ठ अतिथि पालिका उपाध्यक्ष विसुदेवी नाथले कला साहित्य क्षेत्रको विकास र संरक्षणमा पालिका सरकार जहिलेपनि तयार रहने बताएकी छन् । स्थानीय कला सँस्कृतिक, देउडा खेल र अन्य मौलिक चाड पर्वको जगेर्ना र साहित्य क्षेत्रका स्रष्टा सर्जकहरुको प्रवद्र्धनमा पालिका प्रतिवद्ध रहने नाथले बताएकी छन् ।
प्रतिष्ठानका सचिव शैलेश रावतले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका मिन खड्काले गरेका छन् । अध्यक्ष गणेश बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एमाले नेता गणेश शाही, गोपाल बुढा, काँग्रेस नेता तालबहादुर रावत, ४ का अध्यक्ष दलबहादुर धामी, ७ का अध्यक्ष खगेन्द्र रावत, आटीचौर स्वास्थ्य चौकीका इन्चार्ज रमेश ओली सहीत सहभागि थिए ।
तालकै आँगनमा आयोजित कार्यक्रममा गजलकार सौगात शाह, विक्रम साउँद, हरिस रावत, दिनेश थापा, रोशन सुनार, सनम सुनार लगायत आधा दर्जन बढीले प्रस्तुती दिएका थिए । कलाकार डम्मर विसी, जनक चदारा, हिमाल उखेडा, पुजा उखेडा, हिमानी कार्की, राजेन्द्र रावत, साहित्यकार एवं गायक हर्क खडायत लगायतले साँस्कृतिक प्रस्तुती दिएका थिए ।
तालको वर्णन, माया प्रेमका प्रेमील प्रंसंग, विकास निर्माण र राजनीतिका कुरा, मिलन विछोडका विषयलाई गीत, गजल, कविता मार्फत संवोधन गरिएको छ । बाजुरामा पनि राम्रो लेखन क्षमताका स्रष्टा सर्जक छन्, भन्ने कुरा प्रमाणित हुने गरि कार्यक्रममा प्रस्तुती दिइएको थियो ।
प्रतिष्ठानले कार्यक्रममा सहभागि स्रष्टा सर्जकहरुलाई सम्मान समेत गरेको थियो । छेडेदह तालको संरक्षण नै पालिकाका लागि पहिलो चुनौति बनिरहेको बेला सिर्जना वाचन तथा साँस्कृतिक कार्यक्रमले थप ध्यानाकर्षण गराउन सहयोग पुर्याएको छ ।
प्रतिकृया दिनुहोस