मन्दिर प्रवेश गरेको निउँमा कुटपिट सहीत जातीय विभेद गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

नजिक न्युज संवाददाता    

मन्दिर प्रवेश गरेको निउँमा कुटपिट सहीत जातीय विभेद गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बाजुरा : दलित समुदायका व्यक्तिले मन्दिर प्रवेश गरेको भन्दै कुटपिट गरि जातीय भेदभाव गर्ने वडा अध्यक्ष जुद्ध अयडीलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी मन्दिर प्रवेश गरेको भन्दै टेकेन्द्र सुनार माथि कुटपिट सहीत जातीय भेदभाव गर्ने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको हो ।

जातीय भेदभाव तथा छुवाछुत ऐन अन्र्तगत अयडी सहीत तीन जना विरुद्ध जिल्ला प्रहरी बाजुरामा उजुरी परेको छ । जातीय भेदभाव र कुटपिटको उजुरी परेपछि अयडीलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । 

अध्यक्ष अयडीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनामा संलग्न स्थानीय रंगलाल पाध्याय र विनोद अयडीको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक सूर्य बहादुर थापाले बताएका छन् । पाध्याय र अयडी फरार छन् ।

बाजुराको बुढीगंगा नगरपालिका घर भएर हाल कञ्चनपुर जिल्लामा बस्दै आएका टेकेन्द्र सुनार पुजाको क्रममा नाटेश्वरी मन्दिर पुगेका थिए । पूजाका लागि मन्दिर परिसरमा प्रवेश गरेका सुनार माथि वडा अध्यक्ष अयडी सहीत तीन जनाले मन्दिर छोएको आरोपमा कुटपिट गरेका थिए । 

दलितले मन्दिर प्रवेश गर्न पाउँदैन्, दलित भएर भगवानको मन्दिर प्रवेश किन गरेको भन्दै कुटपिट गरेको पीडित सुनारले बताएका छन् । आँखा र मुखमा घाउ लागेर अनुहार नै सुनिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपनि उजुरीका लागि चौतर्फी दबाब बढेको थियो । कुटपिट र विभेद सहेर बसेका सुनारले दलित अधिकार कर्मीको सहयोगमा न्यायका लागि उजुरी दिएको बताएका छन् ।

मान्छेभएर पनि मान्छेको जस्तो व्यवाहार नगर्ने राज्यका प्रतिनिधीलाई कानुनको पाठ पढाउन र मान्छेलाई सम्मान गर्न पर्छ भन्ने थप सिकाइका लागि कानुनको शरणमा आएको सुनारको दुखेसो छ । जंगली व्यवाहार सहीत आफूमाथि आक्राम गरिएको र डुमले मन्दिर छोए अनिष्ट हुने भन्दै विभेद गरेको आरोप सुनारको छ ।

वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएपनि उजुरी नै परेपनि हिरासदमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी थापाका अनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् ।

जातीय विभेद गर्ने अयडी सहीत तीन जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ अन्र्तगत उजुरी गरिएको छ । उजुरी प्रमाणित भएमा ५० हजार देखि २ लाख सम्म जरिवाना र तीन महिना देखि तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिबाटै सार्वजनिक स्थलमा जातीय विभेद गरिएपछि चौतर्फी विरोध भएको छ । 
 

 



बिहिबार १३, असोज २०७९ ०४:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.