बुढीनन्दाको सिद्धेश्वरीलाई आवासीय विद्यालय सञ्चालन

भोटेजनजातिका बालबालिका लक्षित

नजिक न्युज संवाददाता    

बुढीनन्दाको सिद्धेश्वरीलाई आवासीय विद्यालय सञ्चालन

बाजुरा : बुढीनन्दा नगरपालिका १० ढप्कमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयलाई आवासीय विद्यालयका रुपमा सञ्चालन गरिएको छ । सेवा क्षेत्रका अभिभावकको पहल र बुढीनन्दा नगरपालिकासँगको समन्वयमा सिद्धेश्वरीलाई आवासीय विद्यालयका रुपमा सञ्चालन गरिएको छ । विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा छ । 

पेशा व्यवसायले मौसमी बसाइ सराइ गर्न बाध्य भोटेजनजाति समुदायका बालबालिकालाई लक्षित गरेर आवासीय विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रअ तुलाबहादुर रावतले बताएका छन् । विद्यालयमा अध्ययनरत मध्ये ९५ प्रतिशत बालबालिका भोटेजनजाति समुदायकै छन् ।

हिउँदमा मधेश र बर्षादमा भोट जानु पर्ने र भेडा च्याङ्ग्रासँगै दौडीनु पर्ने बाध्यताले जनजातिका बालबालिका पढ्नबाट वन्चित छन् । शिक्षा आर्जनबाट वञ्चित नगराउने लक्ष्य सहीत तत्कालका लागि अभिभावकले नै आर्थिक लगानी लगाएर आवासीय सुविधा सञ्चालन गरिएको हो । पहिलो वर्ष स्वयम परिवारले नै आफ्ना सन्तानका लागि आवास खर्चको जोखो गर्ने छन् । 

अभिभावक स्वयमकै लगानीमा आवास सहीतको सुविधा सञ्चालन गर्ने सिद्धेश्वरी देशकै पहिलो हो । बाजुरामा करिब ३ हजार बढीको संख्यामा भोटे जनजाति समुदाय बसोबास गर्ने गरेका छन् । अधिकांश सबैको पेशा व्यवसाय भेडा पालन नै हो । जस्का कारण सबैजसो जनजाति बालबालिका आधारभूत तहकै शिक्षा आर्जनबाट वञ्चित छन् । 

सन्तानकै भविष्यलाई ध्यानमा राखेर आवासीय विद्यालयका रुपमा सञ्चालन गरिएको स्थानीय जनक थापा भोटेले बताएका छन् । पहिलो वर्ष जनजाति समुदायका कक्षा ३ देखि ५ मा अध्ययन गर्ने ७३ जना आवास सहीत विद्यालयमै बस्ने छन् । अर्को वर्षदेखि पालिकासँगको समन्वयमा थप व्यवस्थीत र बहुउपयोगी उदेश्य सहीत सञ्चालन गरिने विद्यालय रहेको १० नम्बर वडाका अध्यक्ष नन्दबहादुर रोकायाले बताएका छन् ।  

आमा बुबासँगै जानु पर्ने बाहेक सबै जनजाति बालबालिकालाई आवासीय विद्यालयमै राख्ने र त्यसको निगरानी र सुरक्षा संरक्षण शिक्षकहरुकै जिम्मा हुने नियम बनाएको विद्यालय व्यवस्थापन समितिले बताएको छ । नपढेपनि हुन्छ भन्ने मानसिकताबाट भोटेजनजाति यो अभ्यासले नै माथि उठेको देखिएको छ । 

आवासीय विद्यालय सञ्चालनको औपचारिक उद्घाटन बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले गरेका छन् । पालिकामै नयाँ अभ्यास र देशमै नमुनाका रुपमा विकास गर्न लागिएको प्रति नगर प्रमुख जनक कुमार बोहराले खुसी व्यक्त गरेका छन् । 

औपचारिक सञ्चालन समारोहमा नगर प्रमुख जनक बोहरा, प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेल, शिक्षा शाखा प्रमुख दयाराम जैशी सहीत सहभागि थिए । आवासीय विद्यालय सञ्चालनको सहजिकरणका लागि गैर सरकारी संस्था पीसविन लगायतको पनि भूमिका छ । 

सिद्धेश्वरीलाई नगरले नै अनाथ, असाहय र टुहुरा लक्षित आवासीय विद्यालय बनाउने 

सिद्धेश्वरी आधारभुत विद्यालयलाई नगरपालिकाले नै पालिकाकै आवासीय विद्यालय बनाउने योजना अघि सारेको छ । पालिका स्तरीय अनाथ, असाहय र टुहुराहरुका लागि आवासीय विद्यालय सञ्चालन गर्ने नीति लिएको पालिकाले सिद्धेश्वरीलाई नै विकास गर्ने सोच बनाएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

जनजाति समुदायको बाहुल्यता पनि छ । जनजाति समुदायलाई शिक्षाको पहुँच जोड्न निकै चुनौति थियो, त्यो यही प्रयासबाट पनि सफल हुने देखिएको छ । यसैलाई थप व्यवस्थीत र बहुआयामीक उदेश्य राखेर संरचना र सुविधा विकास गछौं, नगर प्रमुख जनक कुमार बोहराले भन्नु भयो ।

अभिभावक नभएर तथा अभिभावक नहुँदा विद्यालय जान वञ्चित सबैको सुरक्षा, संरक्षण र शिक्षा आर्जनको ग्यारेन्टी पालिकाबाटै हुने नगर प्रमुख बोहराले घोषणा समेत गरेका छन् । यो वर्षको नीति तथा कार्यक्रममा पनि बुढीनन्दा नगरपालिकामा आवासीय विद्यालय सञ्चालन गर्ने भनिएको छ ।

संस्थागत र सामुदायिक विद्यालय प्रति अभिभावक र समाजको बुझाइ फरक छ । तर ढप्कका स्थानीयले थालनी गरेको प्रयासबाट देशलाई नै सिकाइ हुने कामको सुरुवाद गरिएको प्रति पालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलले धन्यवाद दिएका छन् ।

 पालिकाले नै आवश्यक ठानेको कामको सुरुवाद समुदाय स्तरबाटै भएकोले निरन्तरता र स्वामित्व पालिकाले लिने गरि योजना अघि सार्ने बताएका छन् । पालिकाले नै आवासीय विद्यालय बनाउन साथ दिने भएपछि सेवा क्षेत्रका अभिभावक खुसी भएका छन् । 

फोटो क्याप्सन 

आवासीय विद्यालय उद्घाटन समारोहमा उपस्थिति नगर प्रमुख सहीतको टोली । 

फोटो ः नागरिक 



शुक्रबार २४, भदौ २०७९ ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.