बाजुरा : मिटरव्याज पीडितहरुको मुद्दा जिल्ला प्रशासन कार्यालय हेर्ने भएको छ । मिटरव्याजी अपराधिलाई नियन्त्रण गर्न अब जिल्ला प्रशासन कार्यालय बाजुरामा पनि मिटरव्याज पीडितहरुले उजुरी दर्ता गर्न पाउँने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् ।
मिटरव्याजजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुमाथि गरेको शोषणका कारण सयौं परिवारको विचल्ली भैरहेका छन् । त्यस्ता आर्थिक अपराधिहरुलाई कानुनको दायरामा ल्याई कारवाही गर्ने प्रक्रिया अगाडी बढाउन पीडितहरुका उजुरी जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता हुने विष्टले बताए ।
अपराधीलाई कानुनको दायरामा ल्याई कारवाही प्रकृक्रिया चलिरहेको भएपनि अझै धेरै पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ । यस्तो अवस्था सिर्जना हुन नदिन र पीडितलाई न्यायको अनुभूति दिलाउन अबदेखि जिल्ला प्रशासन कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने भएको हो ।
मिटरव्याजी अपराधी नियन्त्रणका लागि प्रधानमन्त्रीबाट गम्भीरतापूर्वक पहल भई २७ गते शुक्रबार माननीय गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरव्याजी अपराधी नियन्त्रणका उपायहरु सिफारिस गर्न कार्यदल गठन समेत भएको छ ।
मिटरव्याजी बाजुरा जिल्लामा पनि फैलिएको हुन सक्ने अवस्थालाई मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दर्ता गर्ने प्रक्रिया अगाडी बढाएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् ।
मिटरव्याज पीडितले उजुरी दर्ता गर्र्ने सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले मिटरव्याजीले गरेका अपराध र शोषण विरुद्ध भदौ ५ गतेभित्र सम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरुलाई अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस