ओडार बस्ने जलुदेवीको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लियो

नजिक न्युज संवाददाता    

ओडार बस्ने जलुदेवीको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लियो

बाजुरा : पाँच वर्षदेखि ओडार बासको जीवन बिताइरहेकी जुलदेवी बुढाको पालन पोषणको जिम्मा गाउँपालिकाले लिने भएको छ । ५ वर्षको छोरा सहीत ओडारको बासमा जीवन बिताउन बाध्य जलुदेवीको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।

जलुदेवीले घरबास नहुँदा ओडार बासको जीवन बिताएकै अवस्थामा प्रहरीले उद्दार गरेको थियो । खप्तड छेडेदह गाउँपालिका १ काँडाकी जलुदेवी श्रीमान र जेठी सौतासँग मिलेर बस्ने अवस्था नभएपछि ओडारको बास बसेर जीवन गुजारा गरिरहेकी थिईन् । 

पाँच वर्षदेखि मानव भएरपनि दुख लाग्दो जंगली जीवन बिताउन बाध्य जलुदेवीलाई प्रहरीले उद्दार गरेपछि थप पालन पोषण र जीवन सुरक्षाको जिम्मा गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । आमा छोराको पालन पोषण, छोराको शिक्षा र स्वास्थ्य उपचार सबै जिम्मा पालिकाले नै लिने गरि संरक्षण गरिएको अध्यक्ष रावतको भनाई छ ।

५५ वर्षको उमेरमा साहरा विहिन अवस्थामा जलुदेवी गाउँ नजिककै जंगलको ओडारमा बस्न बाध्य थिइन् । आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले गएको शुक्रबार उद्दार गरेको थियो । ओडारबाट उद्दार गरिएका आमा छोरा दुबै जना कुपोषणबाट सिकार छन् । 

जलुदेवीका श्रीमान भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि दोस्रो विहे गरेका थिए । बझाङ्ग माइतीघर भएकी जलुदेवीका तीन छोरा छन् । जेठा छोरा १८ बर्षका चक्र बुढा भारतमा बस्छन् । १२ बर्षका छोरा कुशल बुढा बुवासँग गाउँकै घरमा बस्छन् । ५ वर्षका कान्छा छोरा मीन भने जलुदेवीसँग ओडारमा बस्ने गरेका थिए ।

घरमा बस्न खाने अवस्था नभएपछि जलुदेवी ओडारमा बस्न बाध्य भएकी हुन् । श्रीमानले कान्छी भनेर हेला गर्ने, राम्रो व्यवाहार नगर्ने र खान बस्न र लगाउन लुगा कपडा नदिने भएपछि ओडारको विकल्प रोजेको स्थानीयको भनाई छ । 

निकै दुख र कष्ट भोगेर जीवन बिताइरहेकी जलुदुेवी र ५ वर्षको छोरालाई स्वास्थ्य उपचार, संरक्षण र लालन पालन सहीतको व्यवस्था हुने गरि पालिकाले जिम्मा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जोशीले बताएका छन् । 

जलुदेवीका आमा छोराले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर खाने गरेका थिए । पुरा पेट कहिल्यै हुदैन थ्यो, छोरालाई सकेसम्म अघाउने प्रयास गथ्र्ये, तर पनि विहान साँझ एकै प्रकारको पीठोको खोले खानै मन नलाग्ने हुँदा कति दिन भोकै बस्ने गरेको दुखेसो जलुदेवीको छ ।

जलुदेवीसँग खानेकुरा र लत्ताकपडाको समेत अभाव छ । चिसो र गर्मी दुबै मौसमलाई आमा छोरालाई सास्ती हुने गरेको भएपनि दुख सहेरै बसेको अवस्था थियो । श्रीमानले केही कुरा नमिलेपनि सुरक्षित बासका लागि घरमा लिन प्रयास गरेका थिए, तर जलुदेवीले नै नमान्ने गरेको स्थानीय बताउँछन् ।

घरभन्दा ओडार करिव ४०–५० मिटर मात्रै टाढा छ । जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको श्रीमान भाने बुढाको भनाई छ । मसँग कहिले कहिँ झगडा हुने गथ्र्यो, जेठी श्रीमति र कान्छी बीच पनि झगडा भइरहने हुँदा एक्लै बस्ने भन्दै ओडारमा बस्न थालेका हुन्, भानु बुढाले भन्नु भयो ।

दुइटी श्रीमति मिल्ने अवस्था नआएपछि भाने बुढाले कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर समेत बनाइ दिएका थिए । तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बस्ने जिद्दी गरेको पाइएको छ । 

उसोत गाउँपालिकाको उद्दार टोलीलाई समेत नराम्रो व्यवाहार गरेकी जलुदेवीले प्रहरीको टोली पुगेपछि मात्रै पालिकाको संरक्षणमा आउन तयार भएकी हुन् । गाउँपालिकाले पालिका भित्रका अनाथ र बेसाहारहरुका लागि अर्को वर्ष भित्र आश्रम निर्माण गरेर संरक्षणको जिम्मा संस्थागत रुपमै लिने योजना अघि सारेको छ । 

 



सोमबार ३०, साउन २०७९ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.