बडीमालिकाको नीति तथा कार्यक्रममा लोकप्रिय कार्यक्रम समावेश

नजिक न्युज संवाददाता    

बडीमालिकाको नीति तथा कार्यक्रममा लोकप्रिय कार्यक्रम समावेश

बाजुरा : बडीमालिका नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको ११ औँ अधिवेशन नगर सभाबाट महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ । नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको नगर सभामा उपप्रमुख नन्दा कुमारी थापाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

नगरपालिकाले जनताका आवश्यकता र औचित्यका आधारमा कार्यक्रम ल्याएको छ । चालु योजनालाई निरन्तरताका साथै केही लोकप्रिय नारासहितका कार्यक्रम अघिसारिएको पाईएको छ । नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, सामाजिक, पुर्वाधारलाई प्राधमिकतामा राखेको छ ।

शिक्षाः २ वटा प्राविधिक शिक्षा कक्षा संचालनका लागि पहल गर्ने, ८ वटा सामुदायिक विद्यालयमा ईफेस हाँजिरीकोे व्यवस्था गर्ने, सबै सामुदायिक विद्यालयमा एउटै प्रकारको रंगरोगन तथा रेलिङको व्यवस्था  गरिने, नगर स्वयमं शिक्षकलाई नगर अनुदान शिक्षक कोटा रूपान्तरण  गरि अपुग शिक्षक दरवन्दिको समस्या समाधान गरिने, विद्यालयमा संचालन हुने अतिरिक्त क्रियाकलापसँग  पम्परागत सीप डोको नाम्लो बुन्ने, कुटोकोदालो गर्ने, प्रयोगात्मक क्रियाकलाप संचालन गर्ने, नगरपालिका भरिका सबै सामुदायिक विद्यालयका लागि घुम्ती खेलकुद तथा साँस्कृतिक प्रशिक्षणका लागि एकजना खेलकुद तथा १ जना साँस्कृतिक स्वयमसेवक शिक्षकको व्यवस्था गर्ने, विद्यालयमा प्रजनन शिक्षा तथा प्राथमिक  उपचारका लागि हाल मालिका माविमा महिला स्वास्थ्यकर्मी नर्श प्रशिक्षक भर्ना गर्ने, उच्च शिक्षा पढ्ने छात्रवृत्ती कोषको व्यवस्था गर्ने, सामुदायिक  बिध्यालयमै  आफ्ना छोराछोरी अध्ययन गराउने, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिलाई पुरस्कारको ब्यबस्था गर्ने, लोकसेवा तथा शिक्षक सेवा आयोग, आर्मी तथा प्रहरीको तयारीका कक्षा संचालन गरिने छ ।

स्वास्थः नगर पालिकाभित्र विपन्न नागरिका लागि आकस्मिक जटिल विरामिलाई अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सन्चालन गर्ने, वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने, म मात्रै होईन मेरा सन्ततिलाई स्वस्थ बनाउँछु भन्ने अभियान सचालन गरि भान्छा तथा खानपिन सुधार कार्यक्रम संचालन गर्ने, स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका बस्ति ढम्कने, सल्लेना र रापकमा शहरी स्वास्थ्य केन्द्र थप गरि स्वास्थ्य सेवा विस्तार गर्ने, महिलाको साथमा उपमेयर कार्यक्रम मार्फत महिलामा लाग्ने जोखिम रोग निराकरण गर्न शिविर सचालन गरिने भएको छ ।

कृषि तथा पशुपन्छीः मार्तडीमा एकिकृत कृषि उपज संकलन केन्द्र तथा कोल्ड चेम्बर स्थापना गर्ने, एक गाउँ एक नमुना कृषि उत्पादन कार्यक्रम सचालन गर्ने, कृषकको उत्पादनलाई बजारीकरणका लागि ढुवानि सहयोग गर्न कृषि एम्बुलेन्सको सेवा विस्तार गर्ने, आयातित खादा विस्थापित गरि स्वागत तथा सम्मान कार्यक्रममा फुल तथा दुवोको माला प्रयोग गर्न जोड दिने, फलफुल रोपौ कृषक पेन्सन लिउ कार्यक्रम संचालन गरि फलफुल दशक कार्यक्रम सचालन गर्ने नीति अघिसारेको छ । 

पर्यटनः पर्यटन प्रवर्द्धन र गन्तव्य पहिचानका लागि बडीमालिका यात्रा वर्ष २०७९ मनाउने, ऐतिहासिक कला संस्कृति बाजा, पर्व संस्कार भेषभुषा पहिचान हुने गरि साँस्कृतिक संह्रालय स्थापनाका लागि पहल गर्ने, मार्तडीमा रहेको रानिवनलाई हरित पार्कको रूपमा विकास गर्दै ध्यान एंव योग केन्द्र स्थापना पहल गर्ने, बडीमालिका नगर चिडियाखानाको सम्भाव्यता अध्ययन गरि निर्माणका लागि संघ र प्रदेशमा सरकारसंग समन्वय गरि पहल गर्ने ।

पुर्वाधार तर्फः  श्रमिकको ज्याला बैंक खाता मार्फत व्यवस्था गर्ने, उपभोक्ताबाट संचालन हुने आयोजनाको लागत अनुमान नेपाली भाषामा तयार गर्ने, आयोजना कार्यान्वयन गर्दा ईविडिङलाई प्राथमिकता दिने ।

खेलकुदः मेयर कप फुटबल र उपमेयर महिला भलिवल कार्यक्रम संचालन गर्ने, एक वडा एक खेलमैदान पुर्वाधार निर्माण गर्ने, मार्तडीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय खेलमैदान तथा खेलकुद कबडहल बनाउन पहल गर्ने ।

सामाजिक सुरक्षा तथा अन्यः नगरभित्रका ४५ वर्ष पूरा भएका एकल अविवाहित महिला तथा ५० बर्ष पूरा गरेका  पुरूषहरूको तथ्यांक संकलन गरि अर्काे आार्थिक वर्षमा सहारा भत्ताको व्यवस्था गर्ने, जनजाति उत्थान समन्वय समिति गठन गरि जनजाति उत्थान  कार्यक्रम संचालन गर्ने, हेलो मेयर टोलफ्रि कार्यक्रम संचालन गर्ने, नगरको सुरक्षा व्यवस्थापनका लागि नगरप्रहरीको व्यवस्था गर्ने, राजस्व तथा कर संकलन वृद्धि गर्न बडीमालिका नगर कर बर्ष मनाउने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन बडिमालिका रोजगार कार्यक्रम मार्फत साझेदारि गर्ने लगायतका लोकप्रिय नीति तथा कार्यक्रम अघिसारेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।



शनिबार ११, असार २०७९ ०७:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.