एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

नजिक न्युज संवाददाता    

एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।

अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । 

तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलले बताइन् । आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको उनले बताइन् ।

गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।



आइतबार ०५, असार २०७९ १०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.