बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गते हुने

नजिक न्युज संवाददाता    

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गते हुने

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तहकाे निर्वाचन असार २३ गते हुने भएको छ । विहीबार बसेको सर्वदलीय बैठकले निर्वाचन २३ गते विहीबार गर्ने निर्णय गरेको हो ।

विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा उक्त मिति तय भएको हो ।

बैठकमा सहभागि पाँच दलबीच २३ गते निर्वाचनको मिति तोक्ने सहमति भएपछि निर्वाचनको मिति तोकिएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, समाजवादी, राप्रपा लगायत ६ वटा राजनीतिक दलबीच २३ गते निर्वाचन गर्ने सहमत भएको हो ।

बुढीगंगा नगरपालिकाको निर्वाचनको मिति तोक्न पाँचौ पटक बसेको सर्वपक्षीय सर्वदलीय बैठकमा ६ वटा दलबीच सहमति भएपछि २३ गते निर्वाच गर्ने मिति तोकिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् । 

वैशाख ३० गते भएको निर्वाचन स्वच्छ र निष्पक्ष नभएको भन्दै निर्वाचन आयोगले निर्वाचन रद्द गरी पुनः चुनाव गर्ने निर्णय गरेको थियो । धाँधलीरहित सम्पन्न भएको निर्वाचन रद्द गर्न नमिल्ने भन्दै केही समयसम्म विवादीत बनेको थियो । 

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जेठभित्र निर्वाचनको मिति तोकेर निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो । तर पटक–पटक सर्वदलीय बैठकमा दलबीच सहमति नहुँदा निश्कर्ष विहीन हुने गरेको थियो । आज पाँचौ पटक बसेको सर्वपक्षीय सर्वदलीय बैठकमा भने दलबीच सहमति भएपछि निर्वाचनको मिति ताकिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति तोक्न आयोजना गरेको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रामसिंह रावल, निर्वतमान सभापति कविराज पण्डित, एकिकृत समाजवादीका गगन रावल, नेकपा माओवादी केन्द्र, राप्रपाका नेताहरुका बीच निर्वाचनको मिति तोक्ने छलफल भएको थियो । ती सबैले दलबीच २३ गते निर्वाचन गर्न उपयुक्त हुने सहमति भएपछि निर्वाचनको मिति तोकिएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

त्यस्तै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ठुलो संख्यामा सुरक्षाकर्मी खटाईने भएको छ । निर्वाचन केन्द्रमा राष्ट्रसेवक कर्मचारीलाई मात्र खटाईने उनले बताए । अस्थायी कर्मचारी भने नखटाईने भएको हो । मतदान केन्द्रमा उम्मेदवार बाहेक नेताहरुलाई समेत निषेध गरिने भएको छ ।

निर्वाचनका लागि असार २१ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । उक्त समयमा नगरबासी बाहेक अन्यलाई आवतजावत निषेध गरिने बताईएको छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न समेत आग्रह गरिएको छ ।



बिहिबार ०२, असार २०७९ ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.