बुढीगंगा नगरपालिकाको निर्वाचनको मिति २३ गते तोकियो

नजिक न्युज    

बुढीगंगा नगरपालिकाको निर्वाचनको मिति २३ गते तोकियो

बाजुरा : बुढीगंगा नगरपालिकाको निर्वाचनको मिति तोकिएको छ । जिल्ला प्रशासना कार्यालय बाजुरामा आज बसेको सर्वदलीय बैठकले असार २३ गते  विहीबार निर्वाचनको मिति तोकेको हो । 

बैठकमा सहभागि ६ दलबीच २३ गते निर्वाचनको मिति तोक्ने सहमति भएपछि निर्वाचनको मिति तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, समाजवादी, राप्रपा लगायत ६ वटा राजनीतिक दलबीच २३ गते निर्वाचन गर्ने सहमत भएको हो ।

बुढीगंगा नगरपालिकाको निर्वाचनको मिति तोक्न पाँचौ पटक बसेको सर्वपक्षीय सर्वदलीय बैठकमा ६ वटा दलबचि सहमति भएपछि २३ गते निर्वाच गर्ने मिति तोकिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् । वैसाख ३० गते भएको निर्वाचन स्वच्छ र निष्पक्ष नभएको भन्दै निर्वाचन आयोगले निर्वाचन रद्द गरी पुनः चुनाव गर्ने निर्णय गरेको थियो ।

धाँधलीरहित सम्पन्न भएको निर्वाचन रद्द गर्न नमिल्ने भन्दै केही समयसम्म विवादीत बनेको थियो । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जेठभित्र निर्वाचनको मिति तोकेर निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो । तर पटक–पटक सर्वदलीय बैठकमा दलबीच सहमति नहुँदा निश्कर्ष विहीन हुने गरेको थियो । आज पाँचौ पटक बसेको सर्वपक्षीय सर्वदलीय बैठकमा भने दलबीच सहमति भएपछि निर्वाचनको मिति ताकिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति तोक्न आयोजना गरेको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रामसिंह रावल, निर्वतमान सभापति कविराज पण्डित, एकिकृत समाजवादीका गंगन रावल, नेकपा माओवादी केन्द्र, राप्रपाका नेताहरुका बीच निर्वाचनको मिति तोक्ने छलफल भएको थियो । ती सबैले दलबीच २३ गते निर्वाचन गर्न उपयुक्त हुने सहमति भएपछि निर्वाचनको मिति तोकिएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । 

त्यस्तै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ठुलो संख्यामा सुरक्षाकर्मी खटाईने भएको छ । निर्वाचन केन्द्रमा राष्ट्रसेवक कर्मचारीलाई मात्र खटाईने बताईएको छ । अस्थायी कर्मचारी भने नखटाईने भएको हो । मतदान केन्द्रमा उम्मेदवार बाहेक नेताहरुलाई समेत निषेध गरिने भएको छ । 

निर्वाचनका लागि असार २१ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । उक्त समयमा आवतजावत समेत बन्द गरिने बताईएको छ । धाँधली रहित निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न आग्रह समेत गरेको छ । 



बिहिबार ०२, असार २०७९ ०४:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.