बर्षादमा पनि साँफे मार्तडी सडक नियमित गर्न २ डोजर १० कामदार राख्ने

नजिक न्युज संवाददाता    

बर्षादमा पनि साँफे मार्तडी सडक नियमित गर्न २ डोजर १० कामदार राख्ने

बाजुरा : बर्षादको समयमा पनि साँफे मार्तडी सडक नियमित सञ्चालन गर्न सडक डिभिजन कार्यालय साँफेबगरले पूर्व तयारी थालेको छ । बाढी पहिरोका कारण हुने सडक अवरोध हटाउने गरि पूर्व तयारी थालेको हो । बर्षादका चार महिना साँफे मार्तडी सडक हरेक वर्ष अवरुद्ध हुने गरेको छ । 

सडक निर्माणको अढाई दशकसम्म पनि साँफे मार्तडी सडक बाह्रै महिना नियमित हुन सकेको छैन् । बुढीगंगा नदीको तेजीलो बहाव र बल्दे, ताँप्रीसेरा, बार्जुगाड लगायत क्षेत्रको पहिरोले सडक अवरुद्ध हुने गरेको छ । बाढी पहिरोले अवरुद्ध हुने सडकलाई तत्काल सुचारु गर्न र अवरोध हटाउन पूर्व तयारी थालिएको सडक डिभिजन कार्यालय साँफे बगरका डिभिजन प्रमुख राजेश यादवले बताएका छन् ।  

डिभिजन कार्यालयले पूर्व तयारीका लागि २ वटा डोजर, १ वटा लोडर र १० जना कामदार सहीतको पूर्व तयारी थालेको छ । बाटो अवरुद्ध हुने अवस्था आएमा जुन साधान श्रोतको प्रयोग गरेर सुचारु हुन्छ त्यही प्रयोग गर्ने गरि तयारी थालिएको हो । चार महिनाका लागि १० जना कामदारलाई पारिश्रमीक दिएर नै राख्ने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताएका छन् ।

गएको वर्षको बाढी पहिरोले क्षति पुर्याएका क्षेत्रको काम सकिने अवस्थामा रहेको र बाँकी समस्या आउने क्षेत्रमा पनि पूर्व तयारीका सबै प्रयास जारी राख्ने डिभिजन कार्यालयको तयारी छ । ठूलो विपत आइपरेमा केही दिन अवरुद्ध भएपनि सानो समस्या देखिएमा अवरोध नै नहुने गरि श्रोत साधानको तयारी गरिएको कार्यालय प्रमुख राजेश यादवको भनाई छ । 

बैकल्पिक मार्ग निर्माणको प्रयास जारी छ । गएको पौषमा मन्त्रालयलाई स्टमेट र बजेट सहीतको पत्र पठाएपनि निर्णयमा ढिलाई हुँदा काम हुन नसकेको यावदले बताएका छन् । यो बर्षादको समयमा सडक अवरुद्ध हुने अवस्था आउन नदिने गरि काम र तयारी डिभिजन कार्यालयले थालेको बताएको छ ।

बढी समस्या बल्दे र बार्जुगाडमा हो, त्यो क्षेत्रमा पनि हामीले सबै प्रकारको तयारी गरिरहेकोले असहज नहुने गरि काम गरिने डिभिजन कार्यालयले बताएको छ । साँफे मार्तडी सडक बाजुराका बासीका लागि हरेक वर्षको सास्ती दिने सडक बनेको छ । 



शुक्रबार २७, जेठ २०७९ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.