कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत महिलातर्फको २१.१ किमिको हाफ म्याराथनमा बाजुराकी राजपुरा पछाईं प्रथम भएकी छिन् । उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरेकी हुन् ।
पछिल्लो पटक महिलातर्फको हाफ म्याराथनमा प्रथम भएकी विश्वरुपा बूढाले १ घण्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी थिइन् ।
त्यस्तै सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी १ घण्टा २२ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । त्यसैगरी नेपाल पुलिस क्लबकी रोवा विष्टले १ घण्टा ३० मिनेट ४२ सकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन् । त्यस्तै चौथो हुने त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, पाँचौँ हुने विन्द्रा श्रेष्ठ र छैटौँ हुने आर्मीकी गीता विकले क्रमशः १ घण्टा ३१ मिनेट १३ सेकेन्ड, १ घण्टा ३३ मिनेट २७ सेकेन्ड र १ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।
कान्तिपुर हाफ म्याराथनको २१.१ किमि विधामा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो,पाँचौँ र छैटौँ हुनेले क्रमश ः ५० हजार, ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणमा महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको हो ।
हाफ म्याराथन पनि थापाथलीबाटै सुरु भएर माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर सकिएको थियो ।
हाफ म्याराथन महिलातर्फ प्रथम भएकी राजपुरा पछाईंको घर बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपाना हो ।
प्रतिकृया दिनुहोस