कैलालीमा सत्ता गठबन्धनमा दरार : नागरिक उन्मुक्ति, एमाले र माओवादी मिलेर जिसस

नजिक न्युज संवाददाता    

कैलालीमा सत्ता गठबन्धनमा दरार : नागरिक उन्मुक्ति, एमाले र माओवादी मिलेर जिसस

धनगढी : कैलालीमा जिल्ला समन्वय समितिको चुनावमा नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एमाले तालमेल गर्ने भएका छन्। स्थानीय तह निर्वाचनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीसंग तालमेल गरेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीसंग तालमेल गर्ने भएको हो।

त्यसका लागि लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए। '३० गते हुने तय भएको जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ,' जोशीले दिनेशखबरलाई भने।

माओवादी केन्द्र कैलालीका समन्वय समिति प्रमुख लाजुराम चौधरीले पनि सो सहमति भएको पुष्टि गरे। १३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मतभार छ। जितका लागि १४ मतभार आवश्यक पर्छ। बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मतभार १६ पुग्ने भएको छ।

कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको मत ७, एमालेको ५ र माओवादीको ४ मत छ। बिहीबार भएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डित, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि ज्ञवाली तथा एमाले उपाध्यक्ष दुर्गा जोशीलगायतको उपस्थिति थियो।



शुक्रबार २०, जेठ २०७९ ०२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.