गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन

नजिक न्युज संवाददाता    

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन

कमल सावद, धनगढीः नेपाल सरकारको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरियो। तर नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको नाम उच्चारण समेत नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। 

सञ्चालनका लागि भौतिक संरचना तयार रहेपनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिममा आन्दोलन थालिएको छ। संघर्ष समिति र अत्तरियाका युवाहरुले अत्तरिया चौराहमा बुधबार एक घण्टा सवारी सञ्चालनमा अवरोध गरे। उनीहरुले निर्माण भएका भौतिक संरचनामा मेडिकल कलेज सञ्चालनको प्रक्रिया सुरु गर्न माग गरे। एक आन्दोलनकारीले भनिन्, ‘मेडिकल कलेज धेरै ठाउँमा सञ्चालन गर्नु राम्रो हो।  कोरोनाले पनि हामीलाई सिकाएको छ। स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने कुरा। तर भैसकेका संरचनामा पहिला सञ्चालन गर्नुपर्यो। त्यसपछि अर्काे ठाउँमा सुरु गर्ने हो।’

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा लोकराज पाण्डे (आगो) संयोजक रहेको संघर्ष समिति गठन गरिएको छ। समितिले बिहिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ। समितिले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ। 

यता धनगढीमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले सर्वपक्षीय छलफल थालेका छन्। आफूहरुले संयुक्त नागरिक आन्दोलन थालेको काँग्रेस कैलालीका सचिव नृप सुनारले बताए। उनका अनुसार संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ। सबै क्षेत्रको प्रतिनिधित्व रहने गरि नागरिक आन्दोलन १५ गतेसम्म जारी रहने बताइएको छ। 

यस्तै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजलाई नसमेटेको भन्दै धनगढीका युवा यमराज जोशीले बुधबार विरोध प्रदर्शन गरेका छन्। सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने भन्दै गेटालाई वेवास्ता गरेकोले आफूले रचनात्मक विरोध प्रर्दशन गरेको जोशी बताए। 

मेडिकल कलेजका ९० प्रतिशत संरचना तयार भए पनि अस्पताल सञ्चालन नभएको भन्दै प्रदेशका नागरिकले दबाब र आन्दोलन सुरु गरेका हुन्। उनीहरुले सुदूरपश्चिमको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि ठूलो उपलब्धी मानिएको मेडिकल कलेज चाँडो सञ्चालनको माग गरेका छन्। भौतिक संरचना निर्माणको काम पूरा भए पनि गेटामा मेडिकल कलेज सञ्चालनमा बेवास्ता गरिएको गुनासो सुदूरपश्चिमका नागरिकहरुको छ। निर्माण पूरा भएका भौतिक संरचनाहरु जिर्ण बन्दै गए पनि सरकारले अस्पताल सञ्चालनमा बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन्। 

कैलालीको गेटामा २०७३/०७४ बाट निमार्ण सुरु भएको मेडिकल कलेजको ९० प्रतिशत काम पूरा भएको छ। तर अस्पतालका लागि आवश्यक उपकरण,  फर्निचर र जनशक्तिको व्यवस्थापन भएको छैन। सरकारले मेडिकल कलेजको प्रारुपको टुंगो नलगाएकाले उपकरण र जनशक्ति व्यवस्थापनमा पनि समस्या देखिएको हो। 

संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय माहतको मेडिकल कलेज पूर्वाधार विकास समिति गेटाले उपकरण खरिद तथा जडान, फर्निचर खरिद र जनशक्ति व्यवस्थापनका लागि ५ अर्ब ९० करोड बजेट माग गरेको छ। आगामी आर्थिक वर्षबाट अस्पताल सञ्चालनको तयारीमा पूर्वाधार समिति लागेको छ। समितिका निर्देशक हेमराज पुजाराले भौतिक संरचना निर्माणको कामसँग प्रारुपको विषयमा सरकारले निर्णय लिनुपर्ने बताएका छन्। ‘अस्पतालका उपकरण, कलेजका सामग्री र अस्पताल सञ्चालन खर्चसमेतको अनुमानित बजेट माग गरेका छौं’ पुजाराले भने, ‘आगामी आर्थिक वर्षबाट अस्पताल सञ्चालन गर्ने सोचमा हामी छांै। अस्पताल सञ्चालनका लागि प्रारुप भए, उपकरण जडानमा सहज हुने थियो।’ 

कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनमा आए, सुदूरपश्चिमको स्वास्थ्य तथा स्वास्थ्य शिक्षामा ठूलो क्रान्ती आउने विश्वास गरिएको छ।



बिहिबार १२, जेठ २०७९ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.