बाजुराकाे वीरेखोला झरनाको छेउमा ट्राउट माछा पालन

नजिक न्युज संवाददाता    

बाजुराकाे वीरेखोला झरनाको छेउमा ट्राउट माछा पालन

बाजुरा : बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ । स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन् । बडीमालिका ६ कोर्धका विक्रम साउँद र विमल साउँदले व्यक्तिगत लगानीमा माछा पालन सुरु गरेका छन् ।

पर्यटकीय क्षेत्रपनि भएकोले रिर्सट सञ्चालन गर्ने र बिशेष माछाका परिकार मात्र विक्री गर्ने लक्ष्य सहीत माछा पालन सुरु गरिएको सञ्चालक विक्रम साउँदले बताएका छन् । जिल्ला बाहिर गएर माछा पालन बारे तालिम लिएपछि ट्राउट माछा पाल्न सुरु गरिएको साँउदको भनाई छ ।

चिसो र संग्लो पानीमा मात्र पाल्न सकिने माछा भएकोले बडीमालिका पर्वतको फेदीबाट बग्ने नदीकै पानीमा माछा पाल्न थालिएको हो । ट्राउट माछाका लागि बगीरहने संग्लो र सफा अनि चिसो पानीको आवश्यकता पर्ने गर्दछ ।

No description available. संसारमै बिशेष स्वाद र पोषण प्राप्त हुने माछा प्रजातीमा ट्राउट पर्ने गरेको छ । तीन फिल उचाईको बग्ने वालुवा, माटो रहित चिसो पानी ट्राउट माछाका लागि आवश्यक पर्ने भएकोले वीरेखोला झरनाको छेउलाई रोजेको सञ्चालकले बताएका छन् ।

माछाका भुरा जिल्ला बाहिरबाट ल्याएर पाल्न सुरु गरेका छन् । महँगो पर्ने ट्राउट माछा २५० ग्रामदेखि १ केजीसम्मको हुने गरेको छ । व्यवस्थीत माछा पालन पोखरी निर्माण गरि ६ महिना देखि साउँद दाजुभाईले माछा पालनमा जोड दिएका छन् ।

हालसम्म १७ लाख व्यक्तिगत लगानी र ५ लाख जिल्ला भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अनुदान सहयोगबाट सुरु गरिएको छ । जिल्लामै पहिलो अभ्यासका रुपमा थालिएको माछा पालन सफल हुने देखिएको छ । हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि विक्री वितरण गर्न पर्यटकीय स्थलको छेउमै भएकोले सहज हुने साउँद दाजुभाइको विश्वास छ ।

सञ्चालक मध्येका विमल साउँद विदेशबाट फर्किएर माछा पालन सुरु गरेका हुन् । सुरुवादीमै राम्रो उत्पादन हुने देखिएकोले आफूहरु उत्साहीत बनेको विक्रम साउँदले बताएका छन् । झरनामा रमाउन आउने पर्यटकलाई माछा बिशेष परिकार दिन सके पनि राम्रो आम्दानी गर्न सकिने विश्वास नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको विश्वास छ ।

पूर्व मन्त्री समेत रहेका थापा सहीत प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, नेकपा एमाले सचिव भरत थापा, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा सहीतले अनुगनम समेत गरेका छन् । उहाँहरुले नयाँ काम र आम्दानीको श्रोत बढाउने काम गरेको प्रति प्रंशसा सहीत सहयोगको आश्वासन दिएका छन् ।   

सुरुमा ५ लाखमा खरिद गरेर ल्याएका माछाका भुराहरु बीचमै गर्मीका कारण मरेका थिए । हिम्मत नहारेरै फेरि थप लगानी गरेर ६ महिना देखि माछा पाल्न नै सुरु गरिएको छ । ट्राउट बाहेक तीन प्रकारका माछा पालन गरिएको छ ।

ट्राउट माछा विश्वमै लोकप्रीय र सबैको रोजाइ रहने माछा हो । खानमा स्वादीलो, बीच बाहेक काँडा नहुने र पोटीन युक्त पोषीलो माछाका रुपमा ट्राउटलिने गरिएको नरेन्द्र थापाको भनाई छ । यो अभ्यासको बाजुरामा पहिलो सुरुवाद गरिएको हो ।   
 



सोमबार ०९, जेठ २०७९ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.