धनगढी: स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा डडेल्धुराका राजनीतिक दलले पनि चुनावी प्रचार प्रसारलाई अगाडि बढाएका छन्। यसैबीच नेपाली काँग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका २ ओटा गाडी प्रयोग गरेको पाइएको छ।
काँग्रेसको तर्फबाट टिकट पाएका जोशीले आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको स्थानीयले बताएका छन्। यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका २ ओटा स्कारपियोले जोशीसहित कार्यकर्ता बोक्ने गरेको अमरगढीवासीले बताएका छन्। सोमबार दिउँसो यूके ३ टीए ०८०६ नम्बरको स्कारपियो बसपार्कमा पार्किङ्ग गरिएको थियो, भने अर्को स्कारपियो मंगलबार राइनो होटलमा पार्किङ्ग गरि राखिएको छ।
निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडीमा काँग्रेसको चुनाव चिह्न र झण्डा राखेका छन्। निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ।
उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले बताए। ‘त्यस विषयमा हामीकहाँ त्यस्तो कुनै जानकारी आएको छैन। जानकारी आए कारबाही प्रक्रिया अगाडि बढाइन्छ’ उनले भने।
प्रतिकृया दिनुहोस