बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा पनि निर्वाचन अधिकृत फेरिएका छन् । समय तालिका अनुसार काम नगरको भन्दै निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई हटाएको हो ।
आफ्नाे जिम्मेवारी काम पूरा नगरेको, समय तालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको भनी आयोगले उनलाई हटाउनुको साथै उनको ठाउँमा कृष्ण प्रसाद साप्कोटालाई खटाएको छ ।
बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिस समेत गरेको छ । बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको आयोग स्रोतले बताएको छ ।
आयोगका एक अधिकृतका अनुसार पछि खोजतलास गर्दा उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका थिए । उनको मदिरा सेवन गरेको अवस्थाको फोटो सहित आयोगमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको आयोग स्रोत बताउँछ ।
‘उहाँलाई हामीले जिम्मेवारीबाट मुक्त गरेर अर्को निर्वाचन अधिकृत खटाएको आयोग स्रोतले बताएको छ । कारवाहीका लागि न्याय सेवा आयोगमा सिफारिस गर्ने निर्णय समेत भइसकेको जनाएको छ । सरकारी वकिल समूहमा रहेका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका थिए ।
बाजुराको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतसंगै महोत्तरीको साम्सी गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिका लगायत ३ स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस