काँग्रेस नेता रनसिंह अयडी प्रदेश समितिमा मनोनित

नजिक न्युज संवाददाता    

काँग्रेस नेता रनसिंह अयडी प्रदेश समितिमा मनोनित

बाजुरा : नेपाली काँग्रेसका नेता रनसिंह अयडी प्रदेश समितिमा सिफारिस भएका छन् । काँग्रेस बाजुराको जिल्ला अधिवेशनमा पार्टी सचिवमा पराजित अयडीलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले सदस्यमा पदमा मनोनित गरेको हो । 

निवर्तमान जिल्ला समिति सचिव अयडी पार्टी चुनाव हारेपछि जिम्मेवारी विहिन बनेका थिए । काँग्रेसमा युवाहरु माझ राम्रो छवी बनाएका अयडीलाई प्रदेश समितिको धनगढीमा बसेको बैठकले सदस्यमा मनोनित गरेको पत्र पठाएको छ ।

सदस्य पदमा मनोनित गरेको पत्र प्राप्त पछि अयडीले सामाजिक सञ्जाल मार्फत आफ्नो योग्यता क्षमताको मूल्याकंन गरि प्रदेश सदस्य बनाएकोमा खुसी व्यक्त गरेका छन् । साथै अयडीले सहयोग गर्ने सबैलाईसामाजिक सञ्जालमा मनोनित पत्र राखेर धन्यवाद समेत दिएका छन् । 

त्रिवेणी नगरपालिकाको नगर प्रमुखको टिकट नपाएपछि अयडी रुष्ट बनेका थिए । २०७४ सालमै स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अयडीलाई त्यो बेला पनि अर्को पटक टिकट दिने सहमति गरिएको थियो । सहमति अनुसार काम नभएको र राजनीतिक फिल्ड बाहिर बाट आएका व्यक्तिलाई दिएको आक्रोश सहीत बागी उम्मेदवारी समेत दिएका थिए ।

काँग्रेस शिर्ष तहका नेताहरुसँगको परामर्श र तत्कालै प्रदेश समितिको बैठक बसेर सदस्य मनोनित गर्ने पार्टीको आधिकारीक निर्णय पछि अयडीले फिर्ता लिएका छन् । प्रत्येक वडामा समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अयडीले आफूसँगै अरुलाई पनि फिर्ता लिन लगाएका छन् ।

शिक्षक पेशा छोडेर आएका काँग्रेस महाधिवेशन प्रतिनिधी कर्णबहादुर थापालाई टिकट दिएपछि पार्टी सभापति रामसिंह रावलले जबरजस्त पेलेर टिकट लिन नदिएको आरोप अयडीले लगाएका थिए । अयडीले यो पटक पनि अन्तिममा आएर उम्मेदवारी फिर्ता लिई पार्टी प्रदेश सदस्यको पदमा चित्त बुझाएका छन् । 



आइतबार १८, बैशाख २०७९ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.