वीरेन्द्र भट्ट, धनगढीः धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विस्तार गर्न फागुन पहिलो साता नै सर्भेको काम सम्पन्न भइसकेको छ। थप २५८.२५ विगाह जग्गा प्राप्तीको योजनाअनुसार नागरिक उड्यन प्राधिकरणले खटाएको परामर्शदाता कम्पनीको टोलीले सर्भे गरेको थियो।
टोलीले गरेको फिल्ड सर्भे र नापी कार्यालयसँग भएको डिजिटल नक्सालाई एकै स्थानमा राखेर अधिग्रहण हुने जग्गा छुट्याउने काम भइरहेको छ। विमानस्तलको कुनतर्फ कति कित्ता जग्गा अधिग्रहण गर्न खोजेको हो भनेर छुट्याउने काम भइरहेको हो। विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणका लागि आवश्यक तयारी अघि बढाइएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। ‘नापी विभागसँगै मन्त्रालयबाटै डीपीआरका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएकाले अझै केही समय लाग्ने सक्ने देखिन्छ,’ भट्टले दिनेशखबरलाई भने।
सर्भे, डिजिटल म्याप, जग्गा प्राप्ती र डीपीआर निर्माणलगायत कार्यका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। विमानस्थलमा ठूला जहाज सहजै अवतरण हुने गरी विमानस्थल विस्तार र विकासका लागि डीपीआर निर्माण गर्न नापी विभागबाट अनुमति लिनुपर्ने भएकाले केही समय अझै लाग्ने देखिएको विमानस्थल कार्यालयले जनाएको छ। यहाँको नापी कार्यालयसँग भएको डिजिटल म्याप र फिल्ड सर्भेअनुसार जग्गा छुट्याउने काम भने भइरहेको बताउदै कार्यालयले कुन स्थानको कति जमिन प्राप्त हुने विषय भने डीपीआरपछि मात्र एकिन हुने जनाएको छ। तर प्रभावित क्षेत्रका स्थानीय भने आफूहरुको उचित व्यवस्थापन हुन्छ की हुँदैन भन्नेमा सशंकित छन्।
जग्गा अधिग्रहणबापत स्थानीयले उचित मुआब्जालगायत बसोबास हुने–नहुने विषयमा अझै प्रभावित क्षेत्रका बासिन्दामा अन्योल भएको विमानस्थल बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टले बताए। ‘विस्तुत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणमै ढिलाई भइरहेकाले यसका लागि पनि आफुहरुले संघर्ष गर्नुपर्ने देखिएको छ,’ उनले भने।
पहिलो चरणमा जग्गा प्राप्ती गर्न बजेटको व्यवस्था गरिए पनि आवश्यक जमिन लिन भने बजेटका स्रोतहरुको खोजी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। सर्भेदेखि डीपीआर र मुआब्जा निर्धारण समितिले गर्ने कामसम्मका लागि बजेट पर्याप्त भए पनि विमानस्थल विस्तार र विकासका लागि आवश्यक जमिन प्राप्ती गर्न भने ८ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ।
विमानस्थल अध्ययन समितिले गरेको सर्भेका आधारमा विमानस्थलको विस्तार र विकास हुने विमानस्थल कार्यालयका प्रमुख भट्टले बताए। धनगढी विमानस्थल स्तरोननतिसँगै धनगढीलाई मानसरोवरसम्म सडकमार्ग भएर जोड्न पहल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। त्यसक लागि विश्व बैंकसँग ६५ अर्ब बजेट माग गरिएको मन्त्री प्रेमबहादुर आलेले दाबी गर्दै आएका छन्।
प्रतिकृया दिनुहोस