अत्तरियामा खाजा पसल देखाएर यौनधन्दा, ग्राहकलाई तानीतानी लग्छन् सञ्चालक

नजिक न्युज संवाददाता    

अत्तरियामा खाजा पसल देखाएर यौनधन्दा, ग्राहकलाई तानीतानी लग्छन् सञ्चालक

वीरेन्द्र भट्ट, धनगढीः एक साताअगि काठमाडौँबाट कैलालीको अत्तरिया बसपार्क पुगेका विष्णुदत्त कलौनीलाई उपयुक्त होटलमा खाजा खान मन लाग्यो। बसबाट झर्ने बित्तिकै राम्रो खाजा पसल चहार्दै गर्दा एक जना महिला आएर, ‘दाई सस्तो र राम्रो खाजा खाने भए नजिकै हाम्रो होटल छ जाउँ’ भनिन्। त्यसपछि उनी वाणिज्य बैंक नजिकै गल्लीभित्रको खाजा होटलभित्र पसे। 

दायाँबायाँका अन्य खाजा पसल चलाइरहेकाहरुको हेराहेर भयो। पसलभित्र चाउमिन, २/४ प्याकेट चाउचाउ र विभिन्न प्रकृतिका घरेलु तथा थरीथरीका रक्सी मात्रै थिए। खाजा पसलभित्र ३ वटा टेबुलका लागि चारवटा प्लाष्टिकका कुर्सी र नजिकै पर्दाले छोपेर राखेको बिस्तरा पनि थियो। गतिलो खाजाको नाममा रक्सी र २/४ प्याकेट चाउचाउ।

खाजा खान पुगेका कलौनीलाई कति चाडो निस्किऔं झै लाग्यो। उनीे केही नखाऔं भनेर निस्कन लाग्दा एउटा अर्की महिला आएर, ‘ओहो कति राम्रो हेन्सम पनि कति हो, पैसा धेरै पर्दैन बस्ने हो’, भनेपछि कलौनी झनै झस्किए। दायाँबायाँ रहेका अन्य खाजा पसलमा पनि यसैगरी महिलाहरुले खाजा खान आएका ग्राहकलाई जिस्क्याइरहेको दृष्य देखेपछि कलौनी अचम्मित भए। उनले त्यहाँ खाजा पसल देखाएर यौन व्यसाय चलाइदो रहेछ भन्ने भेउ पाए। 

कैलालीको अत्तरियामा दुईवटा यस्ता गल्ली छन्, जहाँ खाजा पसल देखाएर यौन व्यवसाय हुन्छ भन्दा अचम्म लाग्नसक्छ। तर, यस्तो काम ३ वर्षदेखि चलिरहेको छ। पहाड रोडस्थित बसपार्क नजिकै पश्चिमतिर २ वटा गल्लीभित्र खाजा पसल देखाएर खुल्लम खुल्ला यौन व्यवसाय चलिरहेको छ।  

लहरै टिनले छाएका ८ भन्दा बढी खाजापसलभित्र सबैले एक/एकवटा पर्दाले छोपेर पलङ राखेका छन्। खाजा पसल सञ्चालन गरेकाहरुले हरेक पसलमा विभिन्न उमेर समूहका महिला राखेको स्थानीय बताउँछन्। विशेषगरी बिहान र बेलुका ती महिलाहरु खाजा खुवाउने नाममा बसपार्क वरिपरि ग्राहक खोजिरहेको देखिन्छन्। 

पहाड रोडमा रहेका २ गल्लीलाई कतिपयले बद्नाम गल्ली नम्बर १ र २ भनेर पनि चिन्ने गरेका छन्। ती गल्ली नजिकै इलाका प्रहरी कार्यालय पनि छ। तर प्रहरीले पनि नदेखेझै गर्ने गरेको स्थानीयको गुनासो छ। विभिन्न समयमा प्रहरीले ती खाजा पसलभित्र यौनकै विषयमा विवाद भएपछिसंलग्नलाई प्रक्राउ समेत गरेको थियो। तर त्यो व्यवसाय रोकिएको भने छैन।

इलाका प्रहरी कार्यालय मालाखेतीले भने उक्त स्थानलाई निगरानीमा राखेको बताउँछ। ‘गुनासो धेरै नै आइरहेकाले प्रहरीले निगरानी गरिहेको छ’ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पराजुलीले भने, ‘हामी त्यसलाई टुंगोमै पुर्‍याउने गरी काम गर्दैछौँ।’  साभार दिनेश खबर 



शनिबार १५, माघ २०७८ ०६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.