सुदूरपश्चिममा आज ४७७ जनामा कोरोना संक्रमण पुष्टि

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा आज ४७७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ७४८ जनाको कोरोना परीक्षण गर्दा ४७७ जनामा संक्रमण पुष्टि भएको हो। 

१९९ जनाको पीसीआरमार्फत र २७८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। पीसीआरमार्फत ३१७ जनाको परीक्षण गर्दा १९९ जनामा संक्रमण देखिएको हो।

जुन झण्डै ६३ प्रतिशत हुन्छ। आज संक्रमण पुष्टि भएकामध्ये १७२ जना आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ८३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८१, जुलाघाटबाट फर्केका ३, पुलघाटबाट फर्केका ३ र जौलजिवीबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिमका नाका भएर एक हजार ४४२ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ। भारतबाट फर्कन बढेपछि नै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण निरन्तर उकालो लाग्न थालेको हो।

पछिल्लो एक सातामा मात्रै प्रदेशका दुई हजार ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पुस २९ गते ३१८, ३० गते ३८३, माघ १ गते २८३, २ गते १८४, ३ गते ३४५ र ४ गते ४८८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यो अवधिमा परीक्षण भएका झण्डै ३० प्रतिशतमा संक्रमण देखिएको हो। 



बुधबार ०५, माघ २०७८ ०७:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.