नियमित विद्युतको माग गर्दै बाजुरा प्रशासनमा नागरिकको धर्ना, दलहरुले पनि गरे समर्थन

नजिक न्युज संवाददाता    

नियमित विद्युतको माग गर्दै बाजुरा प्रशासनमा नागरिकको धर्ना, दलहरुले पनि गरे समर्थन

बाजुरा :  नियमित विद्युत आपूर्तिको माग गर्दै नागरिक आन्दोलनको दोस्रो दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । सेवा सुचारुका लागि सरोकारवाला निकाय गैर जिम्मेवार बनेपछि जिल्ला बासीले आन्दोलन सुरु गरेका छन् । निर्णायक आन्दोलन गर्ने उद्घोष सहीत व्यवसायी, युवा विद्यार्थी, नागरिक अगुवाहरु एक ठाउँमा देखिएका छन् । 

पहिलो दिन नियमित विद्युत आपूर्तिको माग गर्दै नागरिक समाजद्धारा त्रिबेणी साना जलविद्युत केन्द्र र विद्युत वितरण केन्द्र बाजुराको शाखा कार्यालयमा ताला लगाएका थिए । तालाबन्दी दोस्रो दिन पनि कायमै रहेको छ । कार्यालयमा लगाएको ताला ठोस निर्णय नभएसम्म नखोल्ने नागरिक समाजका अगुवा सुरेन्द्र नाथले बताएका छन् ।

लोडसेडिङ अन्त्य हुनु पर्ने र नियमित विद्युत आपूर्ति गरिनु पर्ने माग राख्दै जिल्ला सदरमुकाम मार्तडीस्थित तुफान डाँडा हुँदै नारा जुलुससहित प्रर्दशन गरी प्रशासनमा धर्ना दिएका छन् ।

नागरिक आन्दोलनमा जिल्लामा क्रियाशिल राजनीतिक दलले पनि समर्थन गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले नागरिक आन्दोलन निर्णायक मोडमा पुग्नु पर्ने र विद्युत सेवा नियमित हुनु पर्ने सवालमा समर्थन गरेका छन् ।

दलका नेताहरु नै नागरिक आन्दोलनमा सक्रिय देखिएका छन् । नियमित विद्युत आपूर्ति,  लोडसेडिङको अन्त्य, प्रशारण लाइन विस्तार लगायतका माग अघि सारेका छन् । आन्दोलन बारे जिल्ला प्रशासन कार्यालय जिम्मेवार नबनेको आरोप नागरिक अगुवाको छ ।

चरणवद्ध आन्दोलन गर्ने निर्णयमा पुगेका नागरिकहरुले भोलि बजार बन्द गर्ने निर्णय गरेका छन् । तालाबन्दी कायम राख्ने र प्रक्रिया अघि नबढेसम्म आन्दोलनका चरणहरु अघि बढाउने निष्कर्षमा स्थानीय छन् । 

विद्युत कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विद्युत बाल्ने ग्यारेन्टी नदेखाएसम्म र ठोस कार्य योजना सहीत विश्वास उपल्लो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नागरिक समाजका अगुवा टेक सुुनारले बताएका छन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । समयमै ठोस निर्णय नभए भोलीदेखि थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने खेमराज साउँदले बताएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले यस विषयमा भोली १ बजे बैठक बोलाएको बताएका छन् । यो एक जनाको मात्र समस्या नभएर सम्पूर्ण उपभोक्ताको रहेको भन्दै भोली बस्ने बैठकले ठोस निर्णय गरी केही दिनमै समस्याको समाधान हुने प्रजिअ पौडेलले बताएका छन् । 

जिल्लामा सञ्चालित त्रिबेणी सहकारी संस्था र नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयबीच २०६६ सालमा २० वर्षका लागि लिजमा सम्झौता भएको र सो सम्झौताको ठोस निर्णय केन्द्रबाट नआएसम्म यस विषयमा अहिले केही बोल्न नसकिने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । 

सरकारले देशमा लोडसेडिङको अन्त्य घोषण गरेपनि बाजुराका स्थानीयले दैनिक ५ देखि १० घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको भन्दै बजारवासी आन्दोलनमा उत्रिएका हुन् ।



बुधबार ०५, माघ २०७८ ०७:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.