बाजुरामा नियमित विद्युत आपूर्ति गर्न माग : आज प्रशासनमा आधा घण्टा धर्ना

नजिक न्युज संवाददाता    

बाजुरामा नियमित विद्युत आपूर्ति गर्न माग : आज प्रशासनमा आधा घण्टा धर्ना

बाजुरा : बाजुरामा नियमित विद्युत आपूर्तिको माग गर्दै जिल्ला सदरमुकाम मार्तडीका नागरिकहरुले आज आन्दोलनको दोस्रो दिन जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुरामा विद्युत आपूर्तिको माग राख्दै पटक–पटक विज्ञप्ती सहीत जानकारी गराउँदा समेत वास्ता नगरेको र मंगलबार आन्दोलन गर्दा पनि यसमा कुनै चासो नदेखाएको भन्दै आज प्रशासनमा धर्ना दिएको नागरिक समाज बाजुराले जनाएको छ । 

मंगलबार नियमित विद्युत आपूर्तिको माग गर्दै नागरिक समाजद्धारा शान्तीपूर्ण आन्दोलनसहित त्रिबेणी साना जलविद्युत केन्द्र र विद्युत वितरण केन्द्र बाजुराको शाखा कार्यालयमा ताला लागाएको थियो ।

नागरिक समाजले कार्यालयमा हिजोदेखि गरेको तालाबन्दी कायमै रहेको छ । कार्यालयमा लगाएको ताल ठोस निर्णय नभएसम्म नखोल्ने नागरिक समाजका अगुवा सुरेन्द्र नाथले बताएका छन् ।

No description available.लोडसेडिङ अन्त्य हुनु पर्ने र नियमित विद्युत आपूर्ति गरिनु पर्ने माग राख्दै जिल्ला सदरमुकाम मार्तडीस्थित तुफान डाँडा हुँदै नारा जुलुससहित प्रर्दशन गरी प्रशासनमा धर्ना दिएको नाथले बताए ।

विद्युत नियमित आपूर्ति पूरा, लोडसेडिङ अन्त्य, प्रशारण लाइन लगत्तै विस्तार हुनुपर्ने लगाएतका मागसहित प्रशासनमा धर्ना दिएको छ । धर्नामा यस विषयमा प्रशासन मौन रहेको भन्दै ठोस निर्णय नभएसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विद्युत बाल्ने ग्यारेन्टी नदेखाएसम्म र ठोस कार्य योजना सहीत विश्वास उपल्लो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नागरिक समाजका अगुवा टेक सुुनारले बताएका छन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । समयमै ठोस निर्णय नभए भोलीदेखि थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने खेमराज साउँदले बताएका छन् । यातायात, बजार, विद्यालय, सम्बन्धीत कार्यालय लगायत बन्द गर्ने कार्यक्रम रहेको उनले बताए ।

No description available.यता प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले यस विषयमा भोली १ बजे बैठक बोलाएको बताएका छन् । यो एक जनाको मात्र समस्या नभएर सम्पूर्ण उपभोक्ताको रहेको भन्दै भोली बस्ने बैठकले ठोस निर्णय गरी केही दिनमै समस्याको समाधान हुने प्रजिअ पौडेलले बताए । 

त्रिवेणी बचत तथा ऋण सहकारी संस्था र नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयबीच २०६६ सालमा २० वर्षका लागि लिजमा सम्झौता भएको र सो सम्झौताको ठोस निर्णय केन्द्रबाट नआएसम्म यस विषयमा अहिले केही बोल्न नसकिने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । 

विद्युत आपूर्तिको माग गर्दै बुझाएको प्रेस विज्ञप्ती, ध्यानाकर्षण पत्र, विभिन्न माध्यमबाट कार्यालयलाई गरेको ध्यानाकर्षणलाई मध्येजनर गर्दै प्रक्रियागत आफ्नो माथिल्लो निकाय समक्ष जानकारी गराईसकेको उनले बताए ।

मण्डलले भने नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाबीच लिजमा भएको सम्झौता तोडेर हुन्छकी, संसोधन गरेर हुन्छ जसरी भएपनि जाडो भन्दा चाडो निकास आउला भन्ने विश्यास रहेको छ ।

सरकारले देशमा लोडसेडिङको अन्त्य गरेको भएपनि  बाजुराबासीले दैनिक ५ देखि १० घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको भन्दै बजारवासी आन्दोलनमा उत्रिएका हुन् ।



बुधबार ०५, माघ २०७८ ०६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.