विद्युत नियमित गर्न निर्णायक आन्दोलनमा बाजुराका व्यवसायी, त्रिवेणी र प्राधिकरणमा तालाबन्दी

नजिक न्युज संवाददाता    

विद्युत नियमित गर्न निर्णायक आन्दोलनमा बाजुराका व्यवसायी, त्रिवेणी र प्राधिकरणमा तालाबन्दी

बाजुरा : विद्युत सेवा नियमित गर्न माग सहीत बाजुराका व्यवसायी निर्णायक आन्दोलनमा जुटेका छन् । शुल्क लिने र विद्युत सेवा नदिने कार्यको विरोध सहीत व्यवसायीकले निर्णायक आन्दोलन सुरु गरेका हुन् । 

आन्दोलन अन्र्तगत व्यवसायीले त्रिवेणी साना जलविद्युत केन्द्र र विद्युत प्राधिकरणको बाजुरा कार्यालयमा तालाबन्दी गरेका छन् । दशक लामो समस्यालाई समाधान गर्न सरोकारवाला पक्ष जिम्मेवार नभएपनि आन्दोलन गर्नु परेको आक्रोश व्यवसायीको छ । 

मार्तडी साना जलविद्युत केन्द्रको स्वामित्व लिएको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले माग अनुसारको विद्युत आपूर्ति गर्न नसकेको आरोप व्यवसायीको छ । मासिक शुल्क लिएपनि सेवा नियमित नभएको व्यवसायी सुरेन्द्र नाथले बताएका छन् ।

उद्योग वाणिज्य संघकै अगुवाईमा निर्णायक आन्दोलन सुरु गरिएको अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् । आन्दोलनमा व्यापार व्यवसायी, नागरिक समाज, युवा विद्यार्थी सबैले साथ दिएका छन् । 

आन्दोलन टोलीले विद्युत प्राधिकरणको कार्यालय र त्रिवेणी साना जलविद्युत केन्द्रको कार्यालयमा तालाबन्दी गरेका छन् । दैनिक कामकाज नै ठप्प पार्ने गरि कार्यालयमा तालाबन्दी गरेपछि आन्दोलनकारी माथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

पहिलो दिन प्रहरीको हस्तक्षेपमा आधा दर्जन आन्दोलनकारी घाइते भएका थिए । एक जनाको तीन वटा दाँच नै भाँचिएका छन् । कार्यालयमा तालाबन्दी नगर्न प्रहरीले दमन गरेको आन्दोलनकारीले बताएका छन् ।

विद्युत महशुल लिने र तर सेवा नदिने कार्य ठगी धन्दा भएकोले तत्काल सुधार हुन जरुरी रहेको युवा विद्यार्थीको माग छ ।  दैनिक जसो १० घण्टासम्म पनि विद्युत अवरुद्ध हुने गरेको छ । सरकारी तथा गैर सरकारी कार्यालयका सबै कामकाज समेत विद्युत आपूर्ति अभावका कारण प्रभावित हुने गरेका छन् ।

२०७२ सालदेखि नै उज्यालो बाजुराको अभियान थालेका राजनीतिक दल समेत यतिबेला मौन जस्तै देखिएका छन् । भाडामा सम्झौता गरिएपनि त्रिवेणीको सामथ्र्य नै नपुग्ने अवस्थामा पनि प्राधिकरण मौन हुनु दुखद विषय बनेको छ ।

चरणवद्ध आन्दोलन सुरु गरेका व्यवसायीले विद्युत नियमतिको ग्यारेन्टी नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् । राष्ट्रिय प्रशारण लाइन विस्तार भएर पावर हाउस नजिकै पुगिसकेको छ । सरकारले देशमा लोडसेडिङको अन्त्य गरेको भएपनि बाजुरा बासीले दैनिक ५ देखि १० घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको भन्दै बजारवासी आन्दोलनमा उत्रिएका हुन् ।

विद्युत सेवा नियमित र लोडसेडिङ अन्त्य गर्नु पर्ने माग गर्दै आन्दोलमा उत्रिएका स्थानीयले आज दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै बजारमा विरोध र्याली निकालेका छन् ।

विद्युत समस्याकै कारण जनजीवन अस्तव्यस्त हुँदा समेत प्राधिकरण र त्रिवेणी साना जलविद्युतले टालटुल मात्र गर्ने गरेको आरोप छ । सम्झौता खारेज गरेर तत्काल प्राधिकरणले राष्ट्रिय प्रशारण लाइन विस्तारको माग गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय र स्थानीय राजनीतिक दलले समेत आन्दोलनलाई व्यवास्ता गरेको आक्रोश व्यवसायीको छ । विद्युत सबैलाई चाहिएको हो, सरकारमा बस्ने र सरकारको प्रतिनिधित्व गर्ने दलहरुले जनताको समस्यालाई संवोधन गर्न नसकेको गुनासो स्थानीयको छ । 

त्रिवेणीकै हाल २ हजार बढी ग्राहक छन् । २ सय किलोवाट क्षमताको विद्युत छ । जुन सबैलाई धान्न सक्ने अवस्था नै छैन् । केन्द्रीय लाइन जडान नगरि समस्या समाधान नहुने जानकारीहरुको निष्कर्ष छ । 

उसो त यता त्रिवेणीले भने आफूहरु प्रक्रियामा रहेको बताउने गरेको छ । प्राधिकरणले पनि लाइन सञ्चालनका लागि प्रक्रिया अघि बढीसकेको आश्वासन दुई वर्ष यता दिदै आएको छ । आश्वासनले धोका पाएपछि स्थानीय बाध्य भएर आन्दोलित बनेका हुन् । 



बुधबार ०५, माघ २०७८ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.