एमाले खप्तड छेडेदह गाउँकमिटीले भन्यो–नेतृत्वले गरेको अन्यायका विरुद्धको संघर्ष हो, विद्रोह होइन

एमालेबाट चुनाव लड्न नदिए, पार्टी छोड्दैनौं, स्वतन्त्र उम्मेदवारी दिन्छौं

नजिक न्युज संवाददाता    

एमाले खप्तड छेडेदह गाउँकमिटीले भन्यो–नेतृत्वले गरेको अन्यायका विरुद्धको संघर्ष हो, विद्रोह होइन

बाजुरा : नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटीले पालिका तहबाट पार्टी जिल्ला कमिटीका कुनै जिम्मेवारीमा नबस्ने जानकारी गराएको छ । सिंगो भूगोललाई नै पार्टी नेतृत्व तहबाट गरिएको अन्यायको आत्मालोचना र सम्मानजनक सहभागिताको सुनिश्चितता नभएसम्म कुनै पार्टी जिल्ला कमिटीका कुनै जिम्मेवारीमा नबस्ने गाउँपालिकाले प्रष्ट पारेको छ ।

गाउँ कमिटीले मार्तडीमा पत्रकार सम्मेलन गरि भूगोल प्रतिको सौतेनी व्यवाहार, अन्याय र अपमान स्वीकार्न नसकिने प्रष्ट पारेको छ । नेतृत्व तहबाट समान योग्यता क्षमता भएका व्यक्तिलाई नियतबस एक्लो बनाउने, अन्याय गर्ने र अवसरबाट वञ्चित गराउने व्यक्तिवादी शैलीका विरुद्ध संघर्ष जारी राख्ने गाउँ कमिटी अध्यक्ष गोपाल बुढा पत्रकारलाई जानकारी गराएका छन् ।

पार्टीको सातौ जिल्ला अधिवेशनमा कुनै प्रक्रिया अधि नबढाई, सहमतिको नाममा उम्मेदवारी दिन समेत रोक लगाउने सम्मका हर्कत देखिनुले सिंगो गाउँपालिकालाई निषेध र विभेद गरिएको गाउँपालिकाले बताएको छ । 

अध्यक्षमा लालबहादुर ओली र उपसचिवमा मन्देवी ओलीले उम्मेदवारी दिन खोज्न समेत दर्ता गर्न अवरोध गरेको र फिर्ता नलिए राम्रो नहुने चेतावनी दिएको घटनाका विरुद्ध संघर्ष जारी राख्ने गाउँपालिकाका नेता खगेन्द्र रावतले बताएका छन् ।

हामी पार्टी विरुद्धमा लागेका छैनौं, हामी पार्टी टोल स्तरबाटै निर्माणमा सक्रिय छौं, यो अन्यायका विरुद्धको रचनात्मक विद्रोह मात्र, हो, खप्तड छेडेदह गाउँपालिका ७ का वडा अध्यक्ष समेत रहेका रावतले भन्नु भयो । 

अध्यक्ष र उपसचिवको उम्मेदवारीमा नेतृत्व तहबाट हस्तक्षेप भएपछि एमाले सातौ जिल्ला अधिवेशनबाट घोषणा गरिएका आठै जनाले चुनावी प्रक्रिया र सथप ग्रहण बहिष्कार गरेका छन् । 

जिल्ला कमिटीमा लालबहादुर ओली, मन्देवी ओली, लालबहादुर खड्का, दिल बहादुर रावत, गणेश शाही, मानबहादुर बुढा, पदम नेपाली, दानबहादुर रोकाया र विमला ओलीको नाम सदस्यमा घोषणा गरिएको थियो ।

सबै शिर्ष नेताहरु समेटिने गरि गाउँ कमिटीले सल्लाह समिति बनाएको छ । लालबहादुर ओली संयोजक र दिपक रावल उपसंयोजक रहेको सबै नेताहरु सम्मेलित सल्लाहकार समिति बनाएर गाउँपालिका स्तरमा पार्टी गतिविधी सञ्चालन गर्ने निर्णय गरिएको गाउँ कमिटी अध्यक्ष गोपाल बुढाले बताएका छन् ।

प्रेस विज्ञप्ती सहीत आयोजना गरिएको पत्रकार सम्मेलनमा पाँचौ जिल्ला अधिवेशन देखि १० औं पार्टीको महाधिवेशन र सातौ जिल्ला अधिवेशनसम्म आइपुग्दा नेतृत्व तहबाट अन्याय गरिएको निष्कर्ष गाउँ कमिटीले निकालेको छ ।

३१ वर्षदेखि पार्टी जिल्ला कमिटीमा बसेका लालबहादुर खड्का, दिलबहादुर रावत समेतलाई कुनै जिम्मेवारी नदिइ भूमिका विहिन बनाउने र गाउँपालिकालाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरिएको निष्कर्ष कमिटीले निकालेको छ । 

माघ २ गते बाजुरा र बझागंको सीमा नाका थामलेकमा गाउँ कमिटीले निर्णायक बैठक गरेको थियो । बैठकले पार्टी जिल्ला नेतृत्वलाई गाउँपालिकामा रोक ठोक गर्ने कुनै योजना र नियत छैन्, तर तत्काल हार्दिक स्वागत र औपचारिक कार्यक्रम सहीत उपस्थित गराउन नसकिने एमाले नेता लालबहादुर खड्काले बताएका छन् ।

हामी पार्टीका विरुद्धमा छैन्, एमाले थियौं, छौ र हुनेछौं, तर जनवादी केन्द्रीयताका नाममा भूगोल, आफन्त र स्वार्थको राजनीति केन्द्रीत नेतृत्व तहबाट निर्णय हुन्छ, हामी त्यो स्वीकार्न र सहन सक्दैनौं भन्ने हाम्रो प्रष्ट मान्यता छ, ३१ वर्ष एमाले बाजुराको जिल्ला कमिटीमा बसेका नेता लाबहादुर खड्काले भन्नु भयो ।

एमाले सातौं जिल्ला अधिवेशनबाट चयन भएको कमिटीमा बस्नु हुन्न, भन्ने पत्रकारको प्रश्नमा त्यो परिस्थिति आउने संभावना बढी छ, हामी नबस्न पनि सक्छौं, खड्काले थप्नु भयो । व्यक्ति मान्नु हुन्न भन्ने मान्यता सहीत हामी न्याय र सम्मानजनक सहभागिताको संघर्षमा छौं, न्यायीक निर्णय भएन र नेतृत्वबाट लाड्ने र हल्का बुझाइ राख्ने शैली नफेरिए विद्रोहले उग्र रुप लिने एमाले नेता दिलबहादुर रावतले बताएका छन् ।

एमाले छोड्नु हुन्छ भन्ने प्रश्नमा रावतले एमाले हुनबाट कसैले नरोक्ने धारणा राखेका छन् । नेताहरु स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिए के गर्नु हून्छ भन्ने जिज्ञासामा नेताहरुले सूर्य चिन्हबाटै चुनाव लड्ने एकस्वरमा जवाफ फर्काएका थिए । 

सर्वसम्मत उम्मेदवार चयन गरि पठाउँछौं, यदी त्यसमा पनि पार्टीले हुदैन भन्ने ठान्यो भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएर पनि चुनावमा एकवद्ध भएर लड्ने धारणा नेताहरुले राखेका छन् ।

गाउँ कमिटीले २२ हजार बढी जनता र १० हजार बढी मतदातासँगै रहन घरभेट कार्यक्रम गर्ने, ओली सरकारका सफल र लोकप्रीय कामको प्रचार गर्न सन्देश सहीतको पार्टी अभियान चलाउने पार्टी कार्यालय नियमित सञ्चालन गरि जनताका काममा सहजिकरण गर्ने निर्णय गरेको जानकारी समेत पत्रकारलाई गराएको छ । 

पदको शक्ति देखाएर प्राइभेट कम्पनी जस्तो पार्टी बनाउने व्यक्तिवादी नियतका विरुद्धमा संघर्ष जारी राख्ने गाउँ कमिटीले बताएको छ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा ३ हजार एक सय र संघ र प्रदेशको निर्वाचनमा ३ हजार ९ सय मत ल्याएको थियो । 

बडीमालिका नगरपालिकाको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटीका अध्यक्ष गोपाल बुढा, सचिव बसन्त बुढा, एमाले नेताहरु लालबहादुर खड्का, दिलबहादुर रावत, खगेन्द्र रावत, खगेन्द्र रावत, विक्रम सुनार, रणबहादुर ओली, लालगिरी रावत, प्रेम रावत सहीत सहभागि रहेका थिए । 

No description available.



मङ्गलबार ०४, माघ २०७८ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.