केपी ‘बा’ स्पोर्टस क्लबद्धारा सिमा अतिक्रमण रोक्न प्रधानमन्त्रीलाई पत्र

नजिक न्युज संवाददाता    

केपी ‘बा’ स्पोर्टस क्लबद्धारा सिमा अतिक्रमण रोक्न प्रधानमन्त्रीलाई पत्र

बाजुरा : केपी बा स्पोर्टस क्लब बाजुराले भारतले लिपुलेक क्षेत्रमा विस्तार गर्न लागेको सडक निर्माण कार्य रोक्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएर नेपाली भूमिमा सडक निर्माणको कार्य तत्काल रोक्न माग गरेको हो ।

खेल क्षेत्रको प्रवद्र्धनका लागि संस्थागत बनेको क्लब समर्थक युवा विद्यार्थीले प्रधानमन्त्रीलाई नै संवोधन गरि ज्ञापन पत्र बुझाएको क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । क्लबले ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णनन्द जैशीलाई बुझाएका हुन् । 

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम भूमि हो भन्ने दर्जनौ आधार र प्रमाणहरु भएपनि उल्टो भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा मात्र समेटेर सडक निर्माणको काम अघि बढाउने कार्य प्रति क्लबले आपत्ती जनाएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको पुस १५ गते नेपाली भूभाग लिपुलेकमा सडक विस्तार गर्ने घोषणा पछि मानसरोवर तीर्थ यात्रा मार्गको नाममा सडक निर्माणको काम जारी छ । नेपालको भूमिमा भारतीय हस्तक्षेप भइरहँदा वर्तमान गठबन्धन सरकार भने मौन देखिएको आरोप पत्रमा उल्लेख छ । 

कुटनीतिक पहलबाट भूमि फिर्ता गर्ने अठोट गरेको ओली सरकारको बर्हिगमनसँगै थप कुनै प्रक्रिया अघि बढेको छैन् । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिबारे नेपालले जानकारी माग गर्दै कूटनीतिक नोट पठाएको थियो । त्यसको समेत भारतबाट बेवास्ता गरिएको लेखिएको छ । 

हामी भूगोलको आकारमा सानो छौं, जनसंख्या कम छ, यसो भन्दैमा राष्ट्रियता, स्वाधिनता र सार्वभौम अधिकारमा कमजोर र निरही छैनौं । भारत अंग्रेजको गुलाम बन्दा नेपाल स्वाधिन र स्वतन्त्र मुलुक थियो र अहिलेपनि छ । नेपाली भूमिमा खुलेआम सडक निर्माण कार्य जारी राख्दा वर्तमान सरकारको मौनता भने आम नेपाली नागरिकलाई सह्य छैन् ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाली भूमि अरुले कब्जा गर्दापनि सत्तासिन दल चुइक्क नबोल्नु र सरकारी तर्फबाट कुनै कुटनीतिक पहल नहुनु आपत्तीजनक र भारत प्रतिको हजुरीया प्रवृत्ती र राष्ट्रघाती षडयन्त्र हो, भन्ने हामी आम नागरिकको बुझाई छ, पत्रमा भनिएको छ । 

विदेशी हस्तक्षेप बारे बोल्न नसक्ने र र छिमेकी देश भारतले आफ्नो भूमि कब्जा गर्दा समेत मौन रहने सरकारलाई पदमा बसिरहन नैतिक अधिकार छैन् र राष्ट्र बचाउन, राष्ट्रियता जोगाउन, स्वाधिन र स्वतन्त्र राष्ट्रको परिचय दिन सक्नु हुन्न भने प्रधानमन्त्री ज्यू, पदमा बस्न आवश्यक छैन् समेत ज्ञापन पत्रमा उल्लेख छ ।

हामीलाई पराधिन राष्ट्र बनाउने होइन्, स्वाधिन मुलुकको परिचय दिने सरकार चाहिएको छ । भारतीय हस्तक्षेप बन्द गराउन र लिपुलेकमा जारी सडक निर्माण कार्य तत्काल बन्द गराउन माग गरिएको छ । भारतको भातृ संगठन भएर सरकार सञ्चालन गर्न खोजिए गठबन्धन सरकार विरुद्ध सडक आन्दोलनमा जान आम नागरिक बाध्य हुने छौं पत्रमा भनिएको छ । 

May be an image of text



शुक्रबार ३०, पुष २०७८ ०६:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.