क्रान्तिका चिनियाँ र नेपाली तीन आयाम : एक तुलना

नजिक न्युज संवाददाता    

क्रान्तिका चिनियाँ र नेपाली तीन आयाम : एक तुलना

विश्वको सम्राट बन्ने अदम्य साहस र सपना बोकेका फ्रान्सका महान शासक नेपोलियन बोनापार्टले चीनलाई निदाएको राक्षस भनेका थिए । जतिखेर चीन चिङ राजघरानाको निरंकुश शासन र जापानी उपनिवेशबाट गुज्रिरहेको थियो ।

डा. सन यात्सेनको नेतृत्वमा रहेको कोमिन्ताङ भनिने नेसनलिष्ट पार्टीको आन्दोलनले १ जनवरी, १९१२ मा चिङ राजसंस्थाको अन्त्यको गर्दै गणतन्त्र चीनको स्थापना गर्‍यो । चीनका राष्ट्रपिता मानिने सन यात्सेन चीनका प्रथम राष्ट्रपति बने । 

कोमिन्ताङ पार्टीभित्रको आन्तरिक किचलो, तरल राजनीतिक अवस्था, जापानको प्रत्यक्ष र परोक्ष घूसपैठ जस्ता कारणका बीचमा १२ मार्च, १९२५ मा डा. सन यात्सेनको हत्या भयो । कोमिन्ताङ पार्टीको नेतृत्वमा च्याङ काइसेक पुगे । उनी स्वयंमा अनुदारवादी र जापानी कठपुतली थिए ।

ठूलो जनसंख्या र भूगोल सामन्तवादी अर्थतन्त्र, जापानको औपनिवेशिक शोषणबाट प्रताडित चिनियाँ जीवनशैलीको गर्भबाट माओत्सेतुङको नेतृत्वमा सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो । सन् १९३३ को जनवरीमा चीनमाथि जापानी सेनाले आक्रमण गर्‍यो ।

यस्तो विकराल स्थितिमा माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले निरंकुश र जापानी कठपुतलीको रुपमा रहेको च्याङ काइसेक सरकार र जापानी आक्रमणका विरुद्ध राष्ट्रियता, जनजीविका, सामन्तवाद र जापानी उपनिवेशबाट उन्मुक्तिको बुलन्द आवाजका साथ दोहोरो युद्ध सञ्चालन गर्‍यो ।

चिनियाँ कम्युनिष्ट पार्टीले उठाएको राष्ट्रियताको सवालमा च्याङ काईसेक सरकारले घुँडा टेक्यो र चिनियाँ कम्युनिष्ट पार्टीसँग कार्यगत एकता गरी जापान विरुद्ध लड्ने सहमति भयो । सन् १९३७ देखि १९४५ सम्म चीन र जापानको बीचमा भीषण युद्ध भयो ।

सोही ताका अमेरिकाले जापानको हिरोसिमा र नागासाकी शहरमा बम आक्रमण गर्‍यो । अन्ततः १५ अक्टोबर, १९४५ मा जापानले आत्मसमर्पण गर्‍यो । चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको जनक्रान्ति सशक्त बन्दै गयो । यसको परिणामस्वरुप १ अक्टोबर, १९४९ मा बेइजिङको तियानमेन चोकमा जनगणतन्त्र चीनको घोषणा भयो ।

च्याङ काइसेक भागेर ताइवान गए । सन् १९१२ मा चिङ राजघरानाको पतन पछि तिब्बतले आफूलाई चीनबाट गरेको स्वतन्त्रताको घोषणाको अवस्थालाई सन् १९४९ को नोभेम्बरमा चीनको अभिन्न अंगको रुपमा तिब्बतलाई चीनमा गाभियो ।

यसरी माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ क्रान्ति सम्पन्न गर्‍यो भने तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले सामूहिक स्वामित्वमा आधारित कृषि क्रान्ति, सांस्कृतिक क्रान्ति विभिन्न विरोध र समर्थनका बीचबाट अगाडि बढायो ।

९ सेप्टेम्बर, १९७६ मा माओको निधन भयो । यसरी उनको नेतृत्वमा भएको चिनियाँ क्रान्ति, कृषि क्रान्ति र सांस्कृतिक क्रान्तिलाई चिनियाँ क्रान्तिको पहिलो आयाम मानिन्छ । तर ल्यु साओची र देङ स्याओपिङ निजी उत्पादन वा स्वामित्वका पक्षधर भएकोले उनीहरूलाई पूँजीवादी वा संशोधनवादका पक्षधर भनी १९६७ जनवरी ११ मा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले पार्टी र सरकारका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै देङ स्याओ पिङलाई नजरबन्द गरियो ।

दुवै देशका मौलिक क्रान्तिका आयाम पनि उस्तै उस्तै छन् । चीन उन्नतिको शिखरतर्फ उन्मुख हुँदै विश्वको दोस्रो शक्ति राष्ट्र बन्यो भने नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्ने क्रममा मात्र रहनुको कारण के हो ? यसको खोजी कसले गर्ने ? प्रश्नहरू जटिल तर वस्तुगत छन्

ल्यु साओचीको हेनान जेलमा रहेकै अवस्थामा १२ नोभेम्बर, १९६७ मा मृत्यु भयो । देङ स्याओ पिङले भने संघर्ष, आलोचना र रुपान्तरणको प्रक्रियाबाट आफूलाई पुनर्स्थापना गर्दै लगे । पछि सन् १९७२ मा देङलाई पुनः पूर्व जिम्मेवारीमा पुनर्स्थापित गरियो ।

सन् १९७७ जुलाई १७ मा देङ पार्टी उपाध्यक्ष, सैन्य परिषदका सदस्य, उपप्रधानमन्त्री र जनमुक्ति सेनाको चिफ अफ द जनरलको जिम्मेवारी सम्हाल्न पुगे । माओको विचारलाई समय सान्दर्भिकतामा बुझ्दै देशलाई आधुनिकीकरण गर्नुपर्ने राजनीतिक र आर्थिक सुधारका कार्यक्रमहरू सन् १९७८ मार्च ५ मा चीनले जारी गरेको नयाँ संविधानमा प्रत्याभूत गरे ।

चीनको नयाँ संविधानमा प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रता, सभा, समारोह, विरोध र प्रदर्शनी गर्ने स्वतन्त्रता, जनतालाई निजी सम्पत्ति राख्ने, उद्यम गर्ने अधिकारको सुनिश्चितता, वैदेशिक व्यापार खुला गर्ने वैदेशिक लगानी भित्र्याउने जस्ता सुधारका कार्यक्रमलाई संवैधानिक मान्यता प्राप्त भयो । सरकारी स्तरबाट यी कार्यक्रमहरू लागू हुन थाले ।

यसरी आधुनिक चीनका निर्माता देङ स्याओपिङले लेनिनवादी राजनीतिक प्रणाणीलाई बजारमुखी अर्थतन्त्रसँग जोडिदिए । देङ स्याओपिङको यस्तो आर्थिक सुधारलाई चिनियाँ क्रान्तिको दोस्रो आयाम मानिन्छ ।

दशौं पटकको आवेदनमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्ने सी चीनफिङ विभिन्न राजनीतिक आरोह पार गर्दै १५ नोभेम्बर २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बने भने १४ मार्च, २०१३ मा चीनका राष्ट्रपति भए ।

कठोर संघर्ष, ओजस्वी प्रतिभा, सदाचारी जीवनशैलीका धनी सीले पहिलो कार्यकालको परीक्षणमा आफूलाई सिद्ध गर्न सफल भए । परिणामस्वरुप सन् २०१८ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले सी विचारधारा पारित गर्दै राष्ट्रपतिको दुई कार्यकालको सीमा हटायो । सी विचारधारालाई संविधानमा समेट्दै चिनियाँ विशेषतामा आधारित समाजवाद भनियो ।

के छ १४ बुँदे सी विचारधारामा ?

१. सम्पूर्ण काममा पार्टी नेतृत्वको सुनिश्चितता

२. जनता केन्द्रित अवधारणाको निरन्तरता

३. सुधारको समग्र गहिराइको निरन्तरता

४. खुला मौलिक हरित अर्थतन्त्र र समाजवादी वितरणसहितको विकासको नयाँ अवधारणा

५. जनताद्वारा राष्ट्र सञ्चालन

६. कानूनी चिनियाँ शासन

७. समाजवादी अहम् मूल्यहरू मार्क्सवादको प्रवर्धन, साम्यवादी आदर्श र चिनियाँ विशेषतासहितको समाजवादको अभ्यास

८. विकासमार्फत जीवनस्तरको बढोत्तरी र सुनिश्चितता

९. मानव र प्रकृतिबीचको सद्भाव सुनिश्चितता

१०. राष्ट्रिय सुरक्षाका लागि समग्र अवधारणा अवलम्बन

११. चीनको सशस्त्र बलमाथि पार्टीको पूर्ण पकड

१२. मानवजातिका लागि साझा भविष्यसहितको समुदाय निर्माण प्रवर्धन

१३. एक मुलुक दुई प्रणालीको अवलम्बन र राष्ट्रिय पुनः एकीकरणको प्रवर्धन

१४. पार्टीमाथि पूर्ण र कठोर सुशासन

सी विचारधारालाई चिनियाँ क्रान्तिको तेस्रो आयाम मानिन्छ । अर्थात् चीन समृद्धिका तीन वटा आयामहरू देखिन्छ ।

पहिलो, माओको नेतृत्वमा सञ्चालन भएका चिनियाँ क्रान्ति, कृषि क्रान्ति र सांस्कृतिक क्रान्ति । दोस्रो, देङको नेतृत्वमा सञ्चालन भएको आर्थिक सुधार तथा उदारीकरणको अभियान । तेस्रो, सीको आर्थिक र सामरिक क्षेत्रमा विश्व प्रभुत्व (ग्लोबल डोमिनेन्स) कायम गर्ने ।

आधुनिक चीनका निर्माताका रुपमा चिनियाँ संविधानमा तीन जना नेताको नाम र विचार उल्लेख गरिएको छ । माओ, माओ विचारधारा । देङ स्याओपिङ, आर्थिक सुधारवादी नेता । सी चीनफिङ, नयाँ युगको चिनियाँ विशेषता सहित समाजवादबारे सी चीनफिङको विचार ।

यसरी नै नेपालको आधुनिक युगको नेपाली क्रान्तिलाई सूक्ष्म ढंगले मूल्याङ्कन गर्दा तीन वटा आयाम रहेको पाइन्छ । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना र यी दलहरूले सञ्चालन गरेको प्रजातान्त्रिक आन्दोलनद्वारा १०४ वर्ष शासन गरेको जहाँनियाँ राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनालाई नेपाली क्रान्तिको पहिलो आयामको रुपमा मान्न सकिन्छ ।

२०१७ सालमा राजा महेन्द्रद्वारा गरिएको प्रजातन्त्रको हत्याको विरुद्धमा संगठित रूपमा निरन्तर भएका प्रतिकार र नेपाली काङ्ग्रेस र संयुक्त वाममोर्चाले सञ्चालन गरेको संयुक्त जनआन्दोलनद्वारा २०४६ सालमा भएको प्रजातन्त्रको पुनर्स्थापनालाई नेपाली क्रान्तिको दोस्रो आयाम मान्न सकिन्छ भने २०६२/६३ सालको आन्दोलन, गणतन्त्रको स्थापना र संघीयतालाई नेपाली क्रान्तिको तेस्रो आयाम मान्न सकिन्छ । यसरी चीन र नेपाल सँगसँगैजसो स्वतन्त्र भए । दुवै देशका मौलिक क्रान्तिका आयाम पनि उस्तै उस्तै छन् ।

चीन उन्नतिको शिखरतर्फ उन्मुख हुँदै विश्वको दोस्रो शक्ति राष्ट्र बन्यो भने नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्ने क्रममा मात्र रहनुको कारण के हो ? यसको खोजी कसले गर्ने ? प्रश्नहरू जटिल तर वस्तुगत छन् । मूलतः विकासको लागि तीन वटा कार्यहरू गरिन्छ ।

विकासको लागि नष्ट गर्नुपर्ने कार्य, विकासको लागि संरक्षण गर्नुपर्ने कार्य र विकासको लागि सृजना गर्नुपर्ने कार्य । अर्थात् नष्ट गर्ने, संरक्षण गर्ने र सृजना गर्ने कार्यको कुल योगलाई विकास भनिन्छ, जुन सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन्छ ।

इतिहास साक्षी छ, चिनियाँ क्रान्तिहरू योजनाबद्ध रूपमा सम्पन्न भए । क्रान्ति पछिको निर्माणको खाका तयार गरी इमानदारी र तीव्र इच्छाशक्तिका साथ कार्यान्वयन भए । परिणामस्वरुप चीनले विकासमा फड्को मार्‍यो ।

नेपालमा भने योजनाबद्ध ढंगले क्रान्तिहरू सफल भए तर निर्माणको साझा खाका तयार हुन सकेन । नेतृत्व कुहिरोको काग वा धागो चुँडिएको चङ्गा जस्तो भए । परिणामस्वरुप नेपाल अधोगतितर्फ गयो । अक्षम नेतृत्व (नलेज डेफिसिट) को परिणाम मुलुकले भोगिरहेछ ।

काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टको साम्यवाद जनता झुक्याउने धोकापूर्ण ब्यानर मात्र बने । सुशासनलाई कार्यान्वयन गरिएन । बन्धक बनाउँदै मन्त्रको रूपमा मात्र जपियो ।

आजको आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल इकोनोमी, प्रबोधन, डिजिटल डिक्टेटरसीप युगका चुनौती र भूराजनीतिक विशिष्टतालाई राष्ट्रहित अनुकूल सम्बोधन गर्न सक्ने गरी नेपाली विशेषतामा आधारित समाजवाद अपनाउनु उपयुक्त हुन्छ । अन्यथा मुलुक सापेक्षित रूपमा थप अधोगतितर्फ जाने खतरा देखिन्छ ।



सोमबार २६, पुष २०७८ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.