एमाले बाजुराको सातौ अधिवेशनको तयारी अन्तिम चरणमा

नजिक न्युज संवाददाता    

एमाले बाजुराको सातौ अधिवेशनको तयारी अन्तिम चरणमा

बाजुरा :  नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बाजुरा सदरमुकाम मार्तडीमा हुने जिल्ला अधिवेशनको सबै तयारी पुरा भएको पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । 

विहान ११ बजेबाट नारा जुलुस सहीत सुरु हुने अधिवेशन उद्घाटन समारोह दिउँसो १ बजे बाट सुरु हुने भएको छ । ५ सय बढी प्रतिनिधी सहभागि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।  

सबै प्रतिनिधी जिल्ला आइसकेका छन् । भने केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने नेताहरु पनि जिल्ला केन्द्रीत बनेका छन् । प्रतिनिधीले आफै खान बस्नको व्यवस्था गर्ने एमालेले निर्णय गरेको छ । विहान मञ्च सिगार्ने काम सकाएर ११ बजेबाटै प्रतिनिधी सहभागि रहेको जुलुस निकाल्ने तयारी एमालेले गरेको छ ।

सातौ जिल्ला अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्नु हुने छ । भने नेताहरु लालबहादुर थापा, प्रकाश शाह, सहदेब बोगटी, दयाल बहादुर शाही, बसुन्धरा रोकाया, बल्देव रेग्मी सहीतका नेताहरु संवोधन गर्नु हुने छ । 

सहमतिका आधारमा नै नेतृत्व चयन गर्ने कसरतमा रहेका नेताहरुले भोलि उद्घाटन सकेर पर्सि नेतृत्व घोषणा गर्ने तयारीमा छन् । तर अध्यक्षमा तीन जनाको बलियो दाबेदारी देखिएपछि सहमति गराउन केही ढिलाइ हुने देखिएको छ ।

चुनाव गर्ने वातावरण नगर्ने गरी सबै आकाक्षीलाई बोलाएर सबैको व्यवस्थापनको विषयमा छलफल अघि बढेको छ । नेकपा एमालेको सातौ जिल्ला अधिवेशनको ९० सदस्यीय जिल्ला कमिटी गठन गर्ने भएको छ ।

नौ वटा स्थानीय तहबाट १ दलित, २ महिला र ३ खुला अनिवार्य रहने गरी ५४ जना, ५ जना पदाधिमारी, १ महिला र २ खुला गरि ३ जना दलित खुला, १ महिला १ पुरुष गरि २ जना जनजाति, १ जना अल्पसंख्यक, ९ जना महिला र १६ जना पुरुष गरी २५ जना खुला सदस्य निर्वाचित हुने छन् । जिल्ला कमिटीमा नौ जना पालिका कमिटी अध्यक्ष पदेन सदस्य रहने छन् । 



बिहिबार २२, पुष २०७८ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.