धनगढी: धनगढीमा भाडामा बस्दै आएका २ व्यक्ति आफ्नै घरबेटीलाई लुटेर फरार भएका छन्। धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा बस्दै आएका प्रशुराम बाँनियाको घरमा लुटपाट भएको हो।
गत पुस १५ गतेदेखि भाडामा बस्दै आएका २ भारतीयले लुटपाट गरी फरार भएको बाँनियाले बताए। आइतबार राति आफूहरुलाई लड्डु(मिठाईं) खुवाएर बेहोस बनाएको उनले बताए। होस आएपछि घरबाट दुई थान मोबाइल सेट, दुई सिक्री, एक सुनको ब्रेसलेट, औँठी र चाँदीसहित नगद चोरी भएको पत्तो पाएको प्रशुराम बाँनियाले बताए। घरका सबै सदस्यले मिठाईं खाएकाले चोरीबारे कसैले जानकारी नपाएको उनको भनाई छ। अहिले बेहोस भएका दम्पतीको धनगढीस्थित निर्सग हस्पिटलमा उपचार भइरहेको छ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे जानकारी आएपछि अनुसन्धान थालेको बताएको छ। घरबहालवालाले भाडामा बस्दै आएकाहरुबारे विस्तृत जानकारी दिन नसकेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
‘घटनापछि हामीले घरबेटीलाई उनीहरुबारे सोध्यौं तर उहाँहरुले कुनै जानकारी नलिएर घरमा बसाएका रहेछन्। अब ती भारतीयबारे कुनै जानकारी नभएपछि अर्को पाटोबाट अनुसन्धान गरिरहेका छौं’ उनले भने। साथै उनले भाडामा बस्न आएकाहरुको जानकारी लिएर मात्रै घर भाडामा दिन सबैलाई आग्रह गरेका छन्।
प्रतिकृया दिनुहोस