सविता विश्वकर्मा
म: पुन्यवती रम्तेल
स्थान: अमेरिकाको न्युर्योक,
मिति:सन् २०१७ को अप्रिल
वर्ष दिनदेखि कोठा भाडामा दिइरहेका घरवेटीले सोचेका रहेछन् रम्तेल भनेको क्षेत्री हो। त्यसैले पुन्यवतीको बारेमा उनीहरूले कहिल्यै खोजीनीति गरेनन्। न त पुन्यवतीलाई आफ्नो थरको बारेमा बताउँनैपर्ने त्यस्तो कुनै प्रसंग वा अवसर नै आयो।
र, बाँकी उनको पहिलो नाउ पुन्यवती वा अरू जे सुकै भए पनि घरवेटीको मतलवको कुरै थिएन।
घरवेटीलाई पुन्यवतीको आनीबानी मनपरेको थियो त्यसैले बेला बेला भनिराख्थे, ‘नानी सधै हाम्रोमा नै बस्नु है, तिमीले छोडेर गयौं भने त हामीलाई साह्रै नरमाइलो लाग्छ।’,
पुन्यवतीले पनि मुस्कुराउँदै हुन्छ भन्थिन्।
एकदिन के सुरमा उनले घरवेटीलाई सुनाइन् ‘मैले काम गर्ने नजिकै भनेको जस्तै कोठा पाइएको छ, सर्न पर्छ कि क्या हो, यतावाट काममा आउजाउ गर्न अली टाढा भएर धपेडी भइराखेको छ।’
उनको प्रस्ताव घरवेटी श्रीमान श्रीमती दुबैलाई मन परेन। मलिन मुहार बनाएर दुवैले एकै स्वरमा भने, ‘तपाई त हाम्रैमा बस्ने हो, कोठा सर्ने त कुरै नगर्नस्।’
यस्तो मायालु बचनले पुन्यवतीको मन पग्लियो र अन्तत: घर छाडेर नजाने निर्णयमा पुगिन्। आफ्नो बचन नकाटेको देखेर घरवेटी पनि दंङ्ग परे।
त्यस्तै ४० -४५ वर्ष उमेर भित्र पर्ने ती घरवेटी दम्पती मुखले मात्रै होइन व्यवहारले पनि पुन्यवतीलाई औधी माया गर्थे। उनीहरू सरल र मिजासिलो स्वभावका थिए। बिहानको चिया नास्ता उनीहरूले नै तयार गरेर राखिदिन्थे, बिहान बेलुका पनि आफूले जे खान्छन् त्यहीँ खाना खुवाउँथे।
घरवेटीको राम्रो व्यवहारले अमेरिकाको विरानो शहर न्युर्योकमा पनि पारिवारिक माहोलमा सुखले बसेकी थिइन् पुन्यवती।
एक साँझ,
पुन्यवतीले दुई जना मन मिल्ने साथीलाई खाने र बस्नेगरी कोठामा बोलाईन्।
खानपिन सकेर तीनै दिदीबहिनी लिभिङ रूममा बसेर गफ गर्न थाले, कुरा नेपालमा हुने जातीय विभेदमा केन्द्रित थियो।
तीनै जना खुलेर विभेदको कुरा साटिरहेका थिए, प्रसंग काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याको बारेमा थियो।
छेउमै बसेर तीनै जनाको कुरा कान थापेर सुनिहरेका घरवेटीको त्यो दिन मात्रै चाल पाए कि, आफुले क्षेत्री होलिन् भनेर भाडामा राखेको पुन्यवती त सार्की पो रहेछिन्।
घरवेटीले पुन्यवतीको जात थाहा पाएको भोलिपल्ट बिहान पुन्यवतीको सामुन्ने आएर अली ठूलो स्वर गरेर भने, ‘बहिनी हाम्रोमा एक जना मान्छे आउँदैछन् हप्तादिन भित्रमा तपाईँले कोठा छाड्नुपर्ने भयो।’
एकैरातमा फेरिएको घरवेटीको स्वभाव र बोलीले पुन्यवती तिन छक परिन्।
सुरूमा त उनलाई आफ्नो जातले गर्दा होला भन्ने लाग्दै लागेन। तर पछि कुरा बुझ्दै जादा अड्कल काट्न गाह्रो परेन।
त्यसपछि उनले सोचेर घरवेटीलाई भनिन्, ‘मलाई एक महिनाको समय दिनुहोस् म व्यवस्था मिलाउँछु।’
घरवेटीले झन् ठूलो स्वर गरेर भने, ‘एक महिनाको समय चाहिएको हो भने पहिलेको भन्दा धेरै भाडा तिर्नुपर्छ।’
घरवेटीले जस्तै रिस देखाएर फाइदै थिएन र तत्काल उनीसँग अरू विकल्प पनि थिएन त्यसैले घरवेटीले धेरै पैसा मागे पनि हुन्छ भनिदिइन्।
केहि महिनाअघि काम गर्ने नजिकै पाएको कोठा सर्छुभन्दा तपाई त हाम्रैमा बस्ने हो हाम्रोबाट अन्त जाने कुरै नगर्नुस् भनेर ढिप्पी गर्ने तिनै घरवेटीले-आजै निस्की भोलि नै निस्किी भनेर हरेक दिन गनगन गर्न थालेपछि पुन्यवतीको मन असाध्यै दुखेको थियो। तै पनि दुखेको मन बुझाउँदै कोठा खोज्ने कामलाई तिव्र दिनुपर्ने बाध्यता थियो।
त्यसको केहि दिनपछि न्युयोर्क घर भएका एक जना नेपालीले आफ्नो घरमा एउटा कोठा खाली छ इच्छुकले सम्पर्क गुर्नहोला भनेर फोन नम्वर राखेर विज्ञापन छापेका रहेछन्।
पुन्यवतीले पनि तुरून्तै विज्ञापनमा दिएको नम्वरमा फोन गरिन् र कोठा हेर्न गइन्, उनलाई कोठा मनपर्यो।
त्यसरी कोठा भाडामा छ भनेर विज्ञापन नै छाप्ने घरवेटी चाहीँ भर्खरका युवा रहेछन् त्यस्तै २७-२८ वर्षका ।
सबै कुरा मिल्ने जस्तो छाँटकाट देखेपछि पुन्यवतीले प्रष्टसँग ती घरवेटीलाई भनिदिइन् म दलित समुदायको मान्छे हुँ तपाईँलाई कोठा दिन समस्या भए अहिले नै भन्नुस है।
ती युवाले तुरून्तै जवाफ फर्काए, केही समस्या छैन दिदी, अमेरिकामा बसेर पनि के जातको कुरा गर्नू, म त जातपात मान्दिनँ।
उनले फेरि हाँस्दै भने, ‘म नै अमेरिकन भइसकेँ, काममा मजाले गाईको मासु खान्छु।’
पछि फेरि अल्लि सम्झिए जसरी उनले भने, ‘ए साच्चै घरमा बंगुरको मासु चाहीँ खान पाइदैन है, यत्ति नगर्नू भयो भने अर्को हप्तादेखि नै बस्न आए हुन्छ।’
पुन्यवतीलाई उनको कुरा सुनेर ढुक्क लाग्यो त्यसपछि एक महिनाको भाडा दिएर विदा भइन्।
त्यसको ठ्याक्कै हप्तादिन पछि ती युवा घरवेटीले पुन्यवतीलाई फोन गरेर भने, ‘अहिले कोठामा बसिरहेकाले कोठा नै नछाड्ने भए, तपाईँले हेरेको कोठा त दिनै नमिल्ने भो नि दिदी।’
‘अनि अस्ती म त्यहाँ जादा कोठा खाली थियो, कोही पनि बस्दैन भन्नुभाको थियो त, कुरा पक्का भएर तपाईँले एक महिनाको भाडासमेत लिइसक्नु भाको छ। मैले त विश्वास गरिनँ है, तपाईँको कुरा’, पुन्यवतीले जवाफ दिइन् र फेरी भनिन्, ‘भाइ नढाटी भन्नुहोस् त तपाईँले पत्याउनै गाह्रौ पर्ने बहाना किन बनाउनुभएको?’
खै के सोचे कुन्नी पछि धक नमानी चुरो कुरो खोलिदिए। ‘घरमा बुढी आमा हुनुहुन्छ, आमाले मान्नु नै भएन, आमाहरूको मानसिकता सानो छ मैले भनेर मात्रै नहुने, सरी है दिदी, माइन्ड नगर्नु होला। तपाईँले अस्ती दिनुभएको पैसा पनि फिर्ता गरिदिन्छु।’
पुन्यवती अक्क न बक्क परिन्।
धेरै दिनको कोठाखोज्ने रस्साकस्सीपछि बल्ल तल्ल एउटा कोठा फेलापर्यो, अहिले बसाइ ठिकै छ।
पुन्यवतीको अनुभवमा आफू बसिरहेको अमेरिकाको शहर न्युयोर्कमा नेपालीले असाध्यै धेरै जातीय विभेद गर्छन्।
आफ्नो नामपछिको थरले गर्दा दलित समुदायका मान्छे कुन दिन कहाँ कसरी जातीय विभेदको शिकारमा पर्ने हो थाहा छैन, मनमा सधै डर लिएर हिँड्नुपर्छ।
उनी थप्छिन् सात समुन्द्र काटेर विश्वकै शक्तिशाली देश अमेरिका आइपुग्दा पनि कथित उपल्लो जातका मान्छेले दलित समुदायलाई गर्ने हेलाले आफ्नै देशका मान्छे पनि आफ्नो जस्तो लाग्दैन।
बरू पराइदेश मेक्सिकन, चाइनिज, भियतनामिजको घरमा बस्न पाए हुन्थ्यो तर नेपालीको त घरैमा बस्नै नपरे हुन्थ्यो जस्तो लाग्छ।
नेपालमा काठमाडौं उपत्यकामा हुर्किएकी पुन्यवतीको ललितपुर जिल्लामै घर छ।
भाडामा कहिल्यै बस्न नपरेकोले दलितलाई कोठा भाडामा हुने विभेदको बारेमा आफैंले अनुभव गरेकी थिइनन्। तर अमेरिकामा आएर भोग्दैछिन्।
पुन्यवती आफैं चाहिँ नेपालमा १९ वर्ष दलित अधिकारको क्षेत्रमा काम गरेकी अधिकारकर्मी हुन्।
उनको विचारमा २०-३० वर्षअघि नै अमेरिका छिरिसकेका कथित उपल्लो जातका नेपालीले नेपालमा जुन प्रकारको विभेद देखेर आएका छन्। त्यो कुरा उनीहरूको दिमागबाट हटेको छैन।
अझ कतिपयलाई त विभेद गर्नु हुँदैन भन्ने ज्ञान पनि छैन। काम घर, घर-काम गर्ने उनीहरूको जीवनशैली यस्तो हुन्छ कि, आफूले नेपालमा जे देखेर आयो ज्ञानको दायरा त्यतिमा मात्रै सिमित छ।
उनी थप्छिन्- प्रायः हामी नेपालीको यहाँका अमेरिकनसँगै खासै संगतनै हुँदैन। संगत हुने भनेको आफूसँगै कामगर्ने नेपाली या त गैर अमेरिकनसँग हो।
उनीहरू स-सना स्टोर, ग्यास स्टेसन, रेष्टुरेन्टमामा काम गर्छन्। अनि यसरी काम गर्ने नेपालीहरू काममा नै यति धेरै व्यस्त हुन्छन् कि, चेतनास्तर पनि कामले नै खाइदिन्छ।
यता चेत भएका पनि संस्कारको नाममा या त आफूभन्दा ठूलाको चित्त नदुखाउन भए पनि यसो गर्नुपरेको भन्छन्।
कारण जे भए पनि अमेरिकामा जातपात हेरेर विभेद गर्ने नेपालीको जमात ठूलो छ।
न्युयोर्कपछि लागौं क्यालिफोर्निया,
झण्डै तीन महिना अघिको कुरा हो,
अमेरिकाको क्यालिफोर्नियामा बस्ने विमल (नाम परिवर्तन) विश्वकर्माले एक जना चिनेको साथीलाई कोठा चाहिएको छ, कतै पाए खबर गर्नु भनेका रहेछन्।
संयोग पनि कस्तो भने विमल जस्तै एक्लो मान्छे पाए कोठा दिन तयार रहेका एक जना घरवेटीले कोठा छ हेर्न आउनू भनेर बोलाए।
खबर पाएकै दिन कोठा हेर्न गए, घर, कोठा दुबै चित्तबुझ्दो लाग्यो विमललाई ।
घरवेटीले तीन वटा कोठा भाडामा दिने गरेका रहेछन्। दुई वटा कोठामा दुई जना भारतीय नागरिक बस्दा रहेछन र अर्कौ कोठा खाली भएकोले मान्छे खोजिरहेका रहेछन्।
त्यहीँ बीचमा विमल कोठा हेर्न उनको घर पुगेका थिए अनि भनेजस्तै मान्छे पाइएकाले होला घरवेटीले निक्कै खुसी भएर घरको चारचौरास घुमाए।
त्यसपछि भान्साछेउ टक्क उभिएर भने, ‘हाम्रोमा बड्गुरको मासु चाहिँ पकाउन पाइदैन त्यत्ति नगर्नू भो भने कोठा दिने कुरा पक्का गरिदिन्छु।’
विमलले हाँस्दै भने, ‘मैले आजसम्म बंगुरको मासु नै खाएको छैन पकाउने त कुरै भएन।’
विमलको उत्तरले घरवेटी झनै खुसी देखिए, घरधनीले सोचेजस्तै मान्छे र विमलले खोजे जस्तै फरासिला घरवेटी पाए।
कोठा हेरिवरी घरबाहिर निस्केर पार्किङलटमा उभिएर उनीहरुबीच केहीबेर कुराकानी भयो।
तपाईँलाई कोठा मन परेको हो भने अहिलेलाई पाँच सय डलर बैना दिनुहोस्, मैले पनि कसैलाई देखाइराख्न पर्दैन, तपाईँलाई पनि ढुक्क मलाई पनि ढुक्क घरवेटीले विमलसँग कोठाको कुराको विट मार्न खोजे।
घरवेटीकै आग्रह अनुसार विमलले पनि त्यहीँ उभिएरै उनको खातामा पैसा पठाइदिए र भने, ‘मेरो नाम विमल विश्वकर्मा हो, तपाईँको अकाउन्टमा त्यहीँ नामबाट पैसा आयो होला चेक गर्नुस है।’
घरवेटीलाई अकाउन्टमा पैसा आएको नेटिफकेसन आयो, विमल ढुक्क भए अनि सामान सार्ने चाजोपाजो मिलाएर छिट्टै सर्ने बचन दिएर विमल हाँस्दै बिदा भए।
तर त्यहीँ दिन साँझ...
विमललाई दिउँसो बैना लिएर कुरा पक्क गरेका घरवेटीले फोन गरेर भने, ‘भाइ हेर्नुहोस् न मेरो घरमा भाडामा बस्नेसँग तपाईँलाई देखाको कोठा भाडामा दिने सल्लाह भाको थ्यो उनीहरूले कोठा नदिनू भनेका छन्।
अनि अर्को कुरा मेरो नेपालतिरबाट पनि मान्छे आउँदैछन्, फेरि तपाईँलाई त्यो बेला हटाउन पनि अफ्ठेरो अहिलेलाई यस्तै भयो सरी है भाइ। मैले तपाईँले दिएको पैसा फिर्ता गरिदिन्छु, माइन्ड नगर्नुस् है’ भनेर फोन काटे।
सबै कुरा पक्का भएर पनि कोठा दिन मिल्दैन भन्ने खवर सुनाएका घरवेटीको कुराले विमल रनभुल्लमा परे।
धेरैबेर सोचे, टोलाए, अनि ती घरवेटीलाई फोन गरेर भनिदिए- जब तपाईँले मलाई कोठा दिने कुरा पक्का गर्नुभाको थ्यो त्यतिवेला त आफ्नो श्रीमतीसँग सल्लाह गर्नुपर्छ भन्ने पनि सोच्नु भएन? ठाँउका ठाउँ कुरा पक्का भाकोथ्यो अनि अहिले आएर घरभाडामा बस्ने मान्छेले मानेन भन्ने कारण देखाएर कोठा नदिने कुरा गर्नुभो।
कोठा हेर्न आएको बेला त तपाईँले म जस्तै मान्छे खोजेको हो भनेर खुसी हुनु भाको थ्यो तर अहिले दिन्नँ भन्दै हुनुहुन्छ तपाईँले नभने पनि किन कोठा दिनु भएन भन्ने कुराचाहिँ मैले थाहा पाइसकेँ।
विमलले यत्ति के भनेका थिए घरवेटीले भनिहालेँ- तपाईँले जातको कारणले भन्ने सोच्नुभाको होला। हुँदै होइन है, त्यस्तो कारण, अहिलेको जमानामा पनि कहाँ त्यस्तो सोच्नु भाको।’
विममले जातको ज पनि मुखबाट निकालेका थिएनन्। तर घरवेटी आफैंले जात चाहिँ कारण होइन है भनेर जिद्धि गरे।
ती घरवेटीले जति नै जिद्धि गरे पनि सबै कुरा पक्कापक्की भएर पैसा समेत बुझिसकेर अन्तिममा भाडामा बस्नेलाई समस्या हुने वहाना देखाएर कोठा नदिनुमा अरू कुनै कारण हुनै सक्दैन।
विमल ठोकुवा गरेर भन्छन्, ‘बैना दिँदा बैंकमा पैसा पठाउनेको पुरा नाम थर हेरेपछि दिनभरी सोचेर साँझ कोठा नमिल्ने खबर दिएका हुन् ती घरवेटीले।’
नेपाल छँदा दलित अधिकारको क्षेत्रमा सक्रिय भएर काम गरेका विमलले नबुझेकालाई विभेद गर्न हुँदैन भनेर चेतना दिएर हिँडे।
तर अहिले अमेरिकाको ठूलो शहर क्यालिफोर्नियामा आफूले भोग्नुपरेको नमिठो अनुभवले मन पोलेको छ।
सबैकुरा बुझेर पनि बुझ पचाउँदै जातले हुँदै होइन भनेर कुरा लुकाउने तर जातकै कारण कोठा भाडामा नदिने घरवेटीलाई कसरी सम्झाउन सकिन्छ भनि उनी थप बुझ्न चाहन्छन्।
अब लागौं, भर्जिनिया तिर।
केशव (नाम परिवर्तित) सेवाको कथा पनि माथि उल्लेख गरिएको भन्दा फरक छैन। ‘कोठा त छ तर जात नमिल्ने भाकोले दिँदैनौ भनेका छन्’, विरामीले थला परेका केशवलाई कोठा खोजिदिने जिम्मा लिएका एक जना हितैसी मित्रले निराश भएर सुनाए, ‘मान्छे भर्खरकै भएपनि कन्जरभेटिभ सोचाइका छन् कोठा नपाइनसक्छ भन्ने त लागेकै थियो, आखिर त्यहीँ भो, के गर्ने मेरोमा भाको भए दिहाल्नेथेँ।’
केशवका मित्रका अनुसार ती कोठा भाडामा राखेका घरवेटीले गैर दलित कोही चिन्नुहुन्छ भने भन्नुहोला तर तल्लो जातको मान्छेलाई मेरो घरमा कोठा दिन्न भनेर पठाएका रहेछन्। जातकै कारण देखाएर कोठा नदिने नेपाली घरवेटी सम्झेर दिक्क भएका केशवलाई जातपात मान्ने नेपालीको घरमा चाहिँ बस्नै नपरे हुन्थ्यो लाग्छ।
वर्षदिन अघि अपराधिक समूहको आक्रमणमा परि गम्भीर चोट लागेर उपचार गराइरहेका सेवा त्यति ठूलो दुर्घटनापछि पनि उपचारले बाँचे। दुःखमा आडभरोसा दिन र उनको हेरचाहमा खटिन अमेरिका आइपुगेकी श्रीमती पनि श्रीमान तंग्रिएपछि स्वास्थ्य लाभको कामना गरेर नेपाल फिरिन्।
विरामी हुँदा आफन्तको शरणमा बसिरहेका उनले एक दिन आफ्नो मनमिल्ने मित्रलाई उचो मनोवल बनाएर भनेका थिए - अब मेरो लागि कोठा खोजिदिन सहयोग गर्नुस्, म फेरि पुरानै लयमा फर्किन चाहन्छु, काममा फर्कन्छु, छुट्टै कोठा खोजेर बस्छु।
तर पैसा तिरे पाइने एउटा सानो कोठा पनि जात नमिल्दा पाइएन भन्ने कुराले उनलाई आत्मवल गिरेको महसुस गरायो। ६ वर्षअघि झोला बोकेर अमेरिकाको यात्रा तय गर्दै गर्दा केशवलाई लागेको थियो देशमा पो विभेद छ विदेशमा त सबै समान, सबै बरावर, आफ्नो मनमर्जी।
तर यहाँ भिज्दै गएपछि पो थाहा भयो- जात हेरेर निच व्यवहार गर्ने नेपालीको जमात अमेरिकामा पनि कमी रहेनछ। धेरै कुरामा आफूलाई अमेरिकी जस्तै बनाइसकेका नेपालीले आफ्नै देशका मान्छेलाई किन जात हेरेर निच व्यवहार गर्छन् होला?
सबै कुरा फेरियो तर जात हेरेर गर्ने व्यवहार मात्रै फेर्न नसकेको देख्दा उनलाई चित्तै बुझ्दैन। नेपालमा भण्डै २५ वर्ष दलित अधिकारको क्षेत्रमा काम गरेका केशवले धेरैलाई विभेद गर्नु हुँदैन भनेर सचेत गराए। तर अमेरिका आएर पनि विभेद गर्न नछोडेकालाई कसरी सचेत गराउने उनी पनि थप छलफल गर्न चाहन्छन्।
***
नेपाली मुलका घरधनीले जात हेरेर गर्ने विभेद त छँदै छ। अझ बरावरी पैसा तिर्नेगरी लिएर बसेको अपार्टमेन्टमा पनि दलित समुदायको परिवार वा व्यक्तिलाई आत्मसम्मान गिर्ने गरी विभेद हुनेरहेछ। अमेरिकामा खर्च कम गराउन दुई परिवारले आधा आधा पैसा तिरेर एउटै अपार्टमेन्ट लिएर बस्ने नेपाली प्रशस्तै छन् ।
अझ केही परिवारले त आफूले लिएको अपार्टमेन्टको एउटा कोठामा चिनेजानेका कसैलाई राखेर महिनावरी पैसा लिन्छन् नाम नबताउने शर्तमा एकजनाले सुनाए-
त्यसरी बस्ने परिवार वा व्यक्ति दलित समुदायको भए पहिल्यै सचेत गराएर भन्छन्। हामीलाई त केही समस्या छैन तर हाम्रो साथीभाइ आउँदा तपाईँको वास्तविक जात कसैलाई नभन्नू है। अनि अझ नेपालमा भएका आफ्ना बाआमाको डर देखाउँदै भन्छन्- हाम्रो बाआमाले नेपालबाट फोन गर्दा तपाईँहरूसँग बोल्नुभयो भने तपाईको वास्तविक जात नभन्नुहोला है।
बाहुन क्षेत्री जे थर भने पनि हुन्छ तर तपाईँको थर चाहिँ नभन्नुहोला, उहाँहरुलाई नमज्जा लाग्छ अनि हामीलाई पनि गाह्रो पर्छ।
उनले थप सुनाए, तर अचम्मै लाग्ने कुरा चाहिँ आफ्ना सन्तानले यहाँका अमेरिकन वा अरू देशका जो कोहीसँग अपार्टमेन्टमा साथी भएर बस्दा हाम्रा नेपाली बाआमालाई कुनै पनि कुराले समस्या हुँदैन।
तर आफ्नै देशका मान्छेसँग बस्दा जात मात्रै नमिलेको थाहा पाउनुपर्छ उनीहरुको चित्त दुख्छ, इज्जत जान्छ, कुलले सहदैन आदि इत्यादि।
उनले थपे-अमेरिकाको ठूला विश्वविधालयमा अध्ययन गरिरहेकालेसमेत नेपालमा बस्ने बाउआमाको चित्त नदुखाउन थर हेरेर भाडामा राख्छन्।
कथित तल्लो जातको मान्छे हो भन्ने लाग्यो भने हिच्किचाउँछन्। यदि राख्नै परे पहिल्यै सावधान गराउँछन्। यस्तो व्यवहारले गर्दा खुम्चिएर बस्नुपर्ने बाध्यता छ। आफूलाई विभेद भए पनि पीडितले सबै कुरा सहिदिएका छन् र त नेपाली समाज मिलेर बसेको देखिन्छ नत्र त जातको आगो भित्र भित्रै सल्किरहेको छ।
घर वा अपार्टमा विभेद भएको महसुस गरेका माथिका कसैले पनि कोठा दिनैपर्ने थियो, नदिएर ठूलो भुल गरे भनेका छैनन्।
त्यस्तो कोठा अरूका घरमा पनि छ तर सबै कुरा मिलिसकेपछि पनि जातले गर्दा किन कुरा विग्रन्छ? मुख्य समस्या यहाँ छ।
पीडा भोग्नेहरू भन्छन् हामीले पनि अरूले जस्तै पैसा नै तिर्ने हो, घर नै विगारेर हिड्ने पनि होइन तर जातले गर्दा समस्या भइहाल्छ।
गैर दलित भए सबै कुरा मिल्ने तर दलित भन्ने थाहा पाएपछि कोठा नै नदिने, यदि दिएको छ भने बसिरहेको कोठाबाट निकालिदिने घरवेटी प्रशस्तै छन् अमेरिकामा।
आफ्नो निजी सम्पत्तिमा आफ्नै मनमर्जी हुन्छ, को व्यक्तिलाई कोठामा राख्ने, कसलाई नराख्ने नितान्त व्यक्तिगत निर्णयको कुरा हो त्यसलाई स्वभाविकनै मान्नुपर्छ।
म कसैलाई पनि मेरो घरमा भाडामा राख्दिनँ भन्न पाइन्छ। तर दलित समुदायको भएकै कारण कोठा दिन्न भन्न पाइदैन।
अपार्टमेन्ट लिएर बस्नलाई नियम अनुसार लिजमा बस्नुर्छ, त्यसमा तोके अनुसार नै जति वर्षको भनेको छ त्यति नै वर्ष अपार्टपेन्ट छाड्न पाइदैन।
त्यसैले त्यसरी लिजमा बस्नुभन्दा कसैको घरमा बस्न पाइयो भने सस्तो पनि हुने अनि जतिवेला मनलाग्यो त्यतिवेला छाड्न पाइने भएकाले पनि भाडामा बस्नुपर्ने रहर र बाध्यता दुबै छ।
तर जात हेरेर व्यवहार गर्ने नेपालीको बानी नफेरिएकोले दलित समुदायका मान्छेलाई समस्या भइरहेको छ त्यो पनि अमेरिका जस्तो विकशित मुलुकमा।
नेपालमा जस्तो ठ्याक्कै जातको आधारमा कोठा नदिनेलाई कारवाही गर्ने कानुनी प्रावधान छैन। घर भाडामा लगाउने सम्वन्धी अमेरिकन कानुन फेडरल हाउजिङले जात, रंग, देश, लिंगको आधारमा विभेद गर्न पाइदैन भन्छ। तर ठ्याक्कै माथि उल्लेख गरिएको जस्तो अवस्थामा के गर्ने स्पस्ट कानुन छैन।
मलाई जातकै कारण देखाएर कोठा नदिएको हो भनेर प्रहरी कहाँ कुरा लिएर गयो भने पनि प्रमाण चाहिन्छ। अनि घरवेटीले मैले जात हेरेर कोठा नदिएको हो भनेर प्रहरीलाई सत्य कुरा पक्कै बताउदैनन्। प्रमाण जुटाउनै अफ्ठेरो छ । अनि अर्को कुरा विभेद भोगेको र विभेद भएको महसुस गरेकाले पनि उनीहरुलाई ठूलै कानुनी कारवाही हुनुपर्छ वा जेल चलान गर्नुपर्छ भनेका छैनन्।
कम्तीमा पनि संसारकै सम्पन्न र विकशीत मुलुकमा बस्ने मान्छेहरुले मान्छेलाई गर्ने व्यवहार समान हुनुपर्छ भन्ने नै हो। तर लाजै नमानी जात हेरेर कोठामा समेत विभेद गर्नेहरु बढेको बढ्यौ छन्, सहनेहरु सहेको सह्यै छन्।
प्रतिकृया दिनुहोस